काठमाण्डौ , ८ पुष – नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अबको तीन हप्ताभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने घोषणा गरेका हुन् ।
उनले भने,‘अब बन्ने सरकारको प्राथमिकता भनेको राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने, राजनीतिक स्थिरता, प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र तिव्र आर्थिक विकास हाँसिल गर्ने नै हो।’ नेपाली जनताले यीनै उद्देश्य पूरा गर्नको लागि वाम गठबन्धनलाई विश्वास गरेर अमुल्य मत दिएको उनको भनाई थियो ।क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै ज्ञवालीले आगामी ५ वर्षभित्रमा नेपाललाई विकाशशील राष्ट्र बनाउने र आगामी दश वर्षभित्र प्रति व्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने अबको सरकारको लक्ष्य रहने समेत जनाए ।
उनले अब बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेमा कुनै दुई मत नभएको स्पष्ट पारे । निर्वाचन सम्पन्न भएको लामै समय भैसकेको भएपनि वर्तमान सरकारले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेको भन्दै दुःख व्यक्त गरे । नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्न हामीले ध्यानाकार्षण पनि गराएको छौं, अब ढिलाई गर्न हुँदैन्।’राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उनको टिप्पणी थियो । उनले निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपरिणाम सम्भवतः पर्सी सार्वजनिक गर्ने जनाउँदै बढिमा अबको तीन हप्ताभित्र नयाँ सरकार गठन हुने विश्वास दिलाए ।
उनले अब पार्टी एकता केबल एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्रै एजेण्डा नभएर ५० लाख नेपाली जनताको एजेण्डा भैसकेको बताए । उनले भने,‘वाम गठबन्धन बनाएर हामी चुनावमा गएका थियौं, हाम्रो पक्षमा ५० लाख जनताले मत दिनुभयो, योसँगै अब पार्टी एकता जनताबाट अनुमोदिन भैसक्यो, एकीकृत कम्युनिष्ट पार्टी बनाउने जनताको मत हो, हामी त्यसबाट दायाँबायाँ हुँदैनौं।’ उनले पार्टी एकता र सरकार गठनको लागि दुवै पार्टीका शीर्ष नेताहरुवीच घण्टौंघण्टौंसम्म बहस भएको समेत जनाए ।
त्यस्तै उनले नेताहरुको व्यवस्थापनमा भन्दा पनि देशको व्यवस्थापनमा आफूहरुको ध्यान जाने पनि विश्वास दिलाए । उनले भने,‘नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा हाम्रो अहिले चिन्ता छैन, हाम्रो चिन्ता त बरु देशलाई व्यवस्थापन गर्नेतिर हो, को एमाले ? को माओवादी ? हामीले बिर्सिसकेका छौं, त्यसैले दुई पार्टीवीचको एकताले छिटो भन्दा छिटो एउटा कोर्स लिन्छ।’ तर पदीय बाँडफाँड त गर्नुपर्ला नि ? भनेर सोधिएको प्रश्नमा उनले थप प्रस्ट्याए,‘त्यो त अवश्य हुन्छ नि । तर नेताहरुको वीचमा पदीय व्यवस्थापन वा बाँडफाँड गर्ने भन्दापनि ठूलो कुरा देशको व्यवस्थापन हो नि । देशमा सुशासन कायम गर्ने कुरा चाहीँ प्रमुख कुरा हो । यसलाई केन्द्रविन्दुमा राखेका छौं । त्यसो गर्दा कुन नेतालाई कुन जिम्मेवारी दिँदा उहाँले सबैभन्दा प्रभावकारी भूमिका खेल्नुहुन्छ त्यसमा हामी त्यही ढंगले सोच्छौैं ।’
उनले अबको तीन हप्ताभित्रै नयाँ सरकार गठन हुने समेत जनाए । उनले थपे,‘हामीले आशा गरेका छौं आउने आईतबारसम्म निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्छ । त्यो सार्वजनिक हुनेवित्तिकै सरकार गठनको बाटो खुल्छ । प्रतिनिधि सभाले पूर्णता पाउने वित्तिकै बहुमत प्राप्त दलको नेता चाहीँ प्रधानमन्त्री बन्ने अहिलेको हाम्रो संविधानमा व्यवस्था छ ।’उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोनवार्तासँगै नेपाल–भारतवीचको अविश्वास हटेको पनि दाबी गरे । उनले थपे,‘नेपाल–भारत सम्बन्धमा जुन किसिमको उतारचढाव थियो, त्यो च्याप्टर अब क्लोज भयो, मोदीजीले बधाई दिनुभयो, नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।’ज्ञवालीले नेपालले दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर मुलुकको हितमा काम गर्ने समेत बताए ।
उनले भने,‘एमालेको नीति नै छ हामी राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर दुवै छिमेक मित्रराष्ट्रबाट लाभ लिन्छौं, चीनको रेल नेपाल ल्याउँदैछौं, केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँछ, त्यस्तै भारतीय द्रुत गतिको रेल वीरगन्ज हुँदै पशुपतिनाथसम्म ल्याउन चाहन्छौं।’ दुवै देशको आर्थिक विकासमा आफूहरु जोडिन तयार रहेको उनको भनाई थियो ।










