दमक, ९ पुस–ख्रिष्टमसको अवसरमा इसाई धर्मालम्वीहरुले आइतबार झापाको दमकमा वृहत कार्यक्रम आयोजना गरेको छ । दमक नगर इसाई समाजको आयोजनामा भएको कार्यक्रममा ख्रिष्टमसको जन्मोसत्वमा शुभकामना आदान–प्रदान गरिएको छ ।
समाजका अध्यक्ष आकास थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका मेयर रोम ओलीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा नगर प्रमुख ओलीले सवै जाति, भाषा, धर्म, लिङ्ग, समुदायको अधिकार र सम्मानका लागि नगरपालिकाको तर्फबाट सकारात्मक पहल गर्ने बताए । उनले कुनैपनि मान्छेले मान्दै आएको धर्म स्थाई हुन नसक्ने बताए । कुनै एउटा मान्छेले मानिरहेको धर्म परिवर्तन गरेर अन्य कुनै धर्म मान्न पाउने अधिकार छ, ओलीले भने–त्यसैले धर्म स्थाई नभएर अस्थाई हुन्छ । नगर प्रमुख ओलीले दमक बहुजातिय, बहुसाँस्कृतिक, वहुधार्मीक र मुल्य–मान्यता बोकेको नगर भएकोले सवैले आ–आफ्नो साँस्कृतिक उत्सवलाई सम्मान गर्न आग्रह गरे ।
कार्यक्रमको अवसरमा दमक–५ निवासी ९४ वर्षिय सुराधन राईलाई जेष्ठ नागरिकबाट सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, पत्रकारिताको माध्यमबाट समाजिक योगदान गरेको भन्दै पत्रकार अनिलदेब राईलाई सम्मान–पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा रेभ.पाष्टर एनडी थुलुङ राईले मुक्ति दाता प्रभु येशु ख्रिष्टको महिमाको बारेमा मन्तव्य राखेका थिए । उनले येशु ख्रिष्टको जन्मोसत्व तथा नववर्ष ०१८ को आगमनलाई स्वागत गर्न पाएको हर्षित भएको बताए ।
अन्तर धार्मीक शान्ति सञ्जालका संयोजक एबम् हिन्दु धर्मबाट राजेन्द्र ढकाल, रेभ पाष्टर दावा शेर्पाले धार्मीक सद्भाव कायम राख्न यस प्रकारका कार्यक्रमले समाजलाई महत्वपूर्ण फाइदा पुग्ने बताए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी दमक शाखा रक्तसंचार विभागका सिद्धार्थ दाहाल, इस्लामिक धर्मका महमद साजन मिया, बौद्धिष्टबाट राजकुमारी तामाङ, किराँत धर्मबाट धर्मराज लिम्बु, पाष्टर राजकुमार राईको उपस्थिति रहेको थियो । यसअघि दमक नगर इसाई समाजको आयोजनामा दमकमा शान्ति–सद्भाव र्याली निकालिएको थियो । गोर्खा डिर्पाटमेण्टको प्राङ्गणबाट निस्केको र्याली गणतन्त्र चौक, जेसिज चौक हुदै थाना लाईनबाट हनुमान मन्दिर, मिशाल बजार, शंख्खध्वोज चौकबाट भुकृति चौक हुदै बेलडाँगी रोडबाट कार्यक्रमस्थल आइपुगेको थियो । र्यालीमा दमक नगरमा रहेका ३० वटा मण्डलीहरुबाट ठूलो संख्यामा इसाई धर्मालम्बीहरुको सहभागिता थियो ।
कुमार तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय मण्डलीहरुको कलाकारहरुले गीतसंगीत र नृत्य प्रस्तुतीद्धारा मनोरञ्जन दिएका थिए ।










