गृहजिल्ला चितवनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आइतवार दिनभर औपचारिक कार्यक्रममा व्यस्त बनेका छन् । उनले आइतवार आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए ।
बिहान एमाले र माओवादी केन्द्रनिकट बुद्धिजीवीहरुले भरतपुरमा राखेको संयुक्त कार्यक्रमलाई सम्वोधन गरेका प्रचण्डले राष्ट्रिय सभा र पार्टी एकताबारे देखिएको अन्यौल र आशङ्का छिटै अन्त्य हुने बताए ।
त्यसपछि चितवनकै शुक्रनगरमा आयोजित प्रगति माविको वार्षिकोत्सवलाई सम्बोधन गर्नुका साथै आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवाद दिए ।
पार्वतीपुरमा मृतकका आफन्तप्रति समवेदना प्रकट गर्न पुगेका प्रचण्डले अपरान्ह गीतानगरमा रेडक्रसको भवन शिलान्यास र संक्षिप्त सम्बोधन गरे ।
पाँचौ कार्यक्रमका रुपमा अध्यक्ष प्रचण्डले चितवन उद्योग संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे । सबै कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता, आर्थिक विकास र जिल्लाका प्राथमिकताबारे आफ्ना धारणा राखेका थिए ।










