नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्नको लागि अनेक चुनौती देखिएको बेलामा वाम गठबन्धनमा यतिबेला नयाँ प्रस्ताव आएको छ ।
एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्री शंकर पोखरेलले त्यो नयाँ प्रस्ताव दिएका हुन् ।
पार्टी एकताका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहअध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका हुन् ।
आइतबार आफ्नो एक अन्तर्वार्तामा नेता पोखरेलले संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था गर्न सकिने र त्यो भनेको ओली र प्रचण्डलाई सह–अध्यक्षको जिम्मेवारी दिनु हो भनेर सो प्रस्ताव राखेका थिए ।
माथिल्लो तहमा मात्र हैन बरु पार्टीको तल्लो पंक्तिसम्म एक भयो भनेमात्र नेतृत्व एक हुने भन्दै उनले दुबै पार्टीलाई एक बनाउन संयुक्त नेतृत्व आवश्यक रहेको बताए ।
‘पार्टी एकतापछिको संक्रमणकालमा संयुक्त नेतृत्व नै हुन्छ । संक्रमणकाल सकिएपछि चाहिँ एकल नेतृत्व हुन्छ,’ उनले भने ।
नेता पोखरेलले भने- ओली र प्रचण्डले चाहिँ यसमा केही भन्नुभएको छैन । तर, दुबै अध्यक्षले आफ्नो पार्टीको भावना बुझेर सामुहिक दृष्टिकोण बनाउनु हुन्छ । एकतापछि पार्टीले त्यही सामुहिक दृष्टिकोण लागू हुन्छ ।’
यद्यपी, सामुहिक नेतृत्वको विषयमा वाम गठबन्धनभित्र विधिवत छलफल भने नभएको उनले जानकारी दिए ।










