विष्णुप्रसाद पोखरेल/दमक
झापामा हिउदे धानप्रति किसानहरु आकर्षित बन्न थालेकाछन् । बिशेष गरेर धानको रुपरजोन क्षेत्रमा सरकारले अनुदान लगायतका कार्यक्रम ल्याएपछि बर्षे धान धन्क्याइ नसक्दै किसानहरु हिउदे धान खेतीको तयारीमा जुटेको पाईएको हो । पथरीया, केचना लगायतका ठाँउहरुमा आधुनिक र ब्यवसायीक रुपमा बीउको ब्याड राख्ने काम शुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधूनिकरण परियोजना अन्र्तगत झापाको धान सुपरजोनमा सिचाइका लागि सौर्य सोलार पम्पको ब्यवस्था गर्न थालिएको हो । यसलाइ सौर्य पम्पिङ प्रणालीको रुपमा चिनिन्छ । सुपरजोनका प्रमुख मेघनाथ तिम्सिनाका अनुसार परिक्षणको रुपमा हरीत कृषक समुह केचनाले सौर्य सिचाइका लागि राखेको सोलार पम्प सफल भएको छ ।
सौर्य पम्पिङ प्रणालीको प्रर्दशनी स्थानीय किसानहरुलाइ गरिएको र यसबाट उहाँहरु खुसि हुनु भएको उहाँको भनाइ रहेको छ । यस क्षेत्रमा कम्तिमा पनि ५ वटा सौर्य सोलार पम्पको ब्यवस्था गर्ने तयारी रहेको छ । एउटा सौर्य पम्प जडानका लागि करिब ५ लाख रुपिया खर्च हुने र यसमा केहि सम्बन्धित कृषक समुहले साझेदारी गर्नु पर्ने उहाँले बताउनु भयो । कृषिमा आधूनिकरण र ब्यवसायीकरणका लागि सौर्य पम्प पनि महत्वपूर्ण कदम हुने जनाइन्छ ।
किसानहरु उत्साहित भएर बीउ राख्न थालेको र यसले धान उत्पादनमा बृद्धि हुने बताइन्छ । बिद्यूत नभएका तथा भएर पनि सिँचाइ सुविधा पुग्न नसकेका स्थानमा सौर्य पम्पबाट साना किसानमा सिँचाइको पहुँच पुर्याउन सरकारले अनुदानको व्यवस्था गर्दै आएको छ ।
सुपरजोन सञ्चालक समितिका सह सचिब समेत रहनु भएका हरीत कृषक समुह केचनाका अध्यक्ष कन्यैलाल गणेशका अनुसार सोलारबाट पानी तानेर सिचाइ हुन्छ भन्ने कहिल्यै सोच नै नभएको अवस्थामा प्रत्यक्ष देख्दा स्थानीय किसानहरु नै अचम्मित समेत भएकाछन् ।
डिजेल जेनेरेटरबाट पानी तान्ने प्रक्रिया महगो र खर्चिलो हुने भएकाले यसले उत्पादन लागत बढाउछ । यस प्रकारको सौर्य उर्जाको प्रयोगले उत्पादन लागत घट्ने र किसानले बढि लाभ लिन सक्ने तिम्सिना बताउनु हुन्छ । सिँचाइका ठूला आयोजनामा मात्र ध्यान दिनुभन्दा यस्ता स–साना आयोजनामा जोड सबैले दिन सकेमा प्रधानमन्त्री कृषि आधूनिकरण परियोजना उदेश्य अनुरुप सफल बन्ने उहाँको भनाइ छ ।
सिचाइको अभाव हुन नदिनका लागि यो प्रणाली उपयुक्त हुने देखिएको स्थानीय अगुवा कृषकहरुको समेत भनाइ रहेको छ । सिचाइ महगो हुँदा र सिचाइको उचित प्रवन्ध मिलाउन नसक्दा तीन बाली हुने खेतबारीमा मुस्किलले एक खेती पनि नहुँदा किसानहरु बिस्थापित हुने अवस्थालाइ यसले रोक्ने अपेक्षा लिईएको सुपरजोन सञ्चालक समितिका सह सचिब समेत रहनु भएका गणेशले बताउनु भयो ।
उहाँका अनुसार यस क्षेत्रमा आधुनिक प्रविधिहरुको प्रयोगसंगै कृषिमा नविनतम् अन्य कार्यहरु समेत अघि बढाईएको छ । स्थानीय कृषक समुहहरुसंगको सहकार्यमा उत्पादन लागत कम गर्नका लागि यस किसिमका कार्यक्रमहरु आफूहरुले ल्याएको पनि उहाँको भनाइ छ । हिजो खेती छाड्ने मनष्थितिमा पुगेका किसानहरु समेत अहिले खेतीमा आकर्षित हुन थालेको गणेशले बताउनु भयो ।










