सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ। राष्ट्रियसभाको गठनबारे नेपाली काँग्रेस एकल संक्रमणीय तथा एमाले बहुमतीय प्रणालीका पक्षमा छ ।

कांग्रेसका सबै भातृ संगठनका सभापतिहरुले अहिले राष्ट्रपति विद्या देवी भण्डारीविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । उक्त अध्यादेश तत्काल पारित नभए कडा भन्दा कडा आन्दोलन गर्ने उनीहरुको उद्धघोष छ । तर कांग्रेसभित्रै उक्त कदमलाई लिएर मत विभाजित बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल विद्यार्थी संघले राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै केही दिन अघिमात्रै दबाबमूलक पदयात्रा निकालेको थियो । हालैमात्रै सबै भातृसंगठनका सभापतिहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर चाँडो भन्दा चाँडो अध्यादेश पारित गर्न माँग गरेका थिए ।

कांग्रेस नेता डा. शेखर कोइरालाले भातृ संगठनले राष्ट्रपतिविरुद्ध गरेको आन्दोलन गलत भएको स्पष्ट पारेका छन् ।  कोइरालाले भने,‘यो गलत काम भैरहेको छ, राष्ट्रपतिको विरुद्धमा यसरी सडकमा तमाशा देखाउनुहुँदैन्।’

त्यस्तै अर्का नेता रमेश लेखकले पनि राष्ट्रपतिविरुद्ध आन्दोलन गर्न पार्टीले कुनै निर्देशन नदिएको जिकिर गरे । लेखकले भने,‘पार्टीेको आधिकारिक निर्णय गरेकै छैन, यो गलत हो ।’ तर नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी आफूहरु उक्त अध्यादेश पारित नगरे आन्दोलन चर्काउने तयारीमा रहेको सुनाईन् । उनले भनिन्,‘हामी सडकमा जान्छौं, राष्ट्रपतिले गलत काम गरिरहनुभएको छ।’

पार्टी सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले घुमाउरो पारामा निर्देशन दिएकोले भातृ संगठन राष्ट्रपतिको विरुद्धमा सडकमा उत्रिएका हुन भन्ने कांग्रेसकै शीर्ष नेताहरुको दाबी छ।