सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदर गरी पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा उजुरी दिएकी छन् ।

सुनसरी ३ बाट नेपाली कांग्रेसका विजयी उम्मेदवार विजय गच्छदार र निर्वाचन आयोगलाई समेत विपक्षमा राखी चौधरीले उजुरी दिएकी हुन् । गच्छदारले सत्ता र शक्तिको आडमा प्रशासनलाई आफ्नो हातमा लिएर धाँधली गर्दै निर्वाचन जितेको भन्दै उनले उजुरी दिएको बताएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उजुरीकर्ता चौधरीले विपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनु, निर्वाचनसंग सम्बन्धित मतपत्र लगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गरेकी छन् ।

निर्वाचनमा गच्छदार ३२१ को झिनो मतान्तरले विजयी भएका थिए । उनले ३८९७२ मत प्राप्त गरेका थिए भने उनकी प्रतिद्वन्द्वी चौधरीले ३८६५१ मत ल्याएकी थिइन् ।