एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा आशंका उत्पन्न भइरहेका बेला दुई दलका शीर्षस्थ नेताबीच मंगलबार छलफल भएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान कुराकानी भएको हो । दुई नेताले एक्लै कुरा गर्न चाहेपछि बैठकमा एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा कोही बस्न पाएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई पार्टीबीच एकता, सरकार गठन र राष्ट्रिय सभा गठन अध्यादेश लगायत विषयमा छलफल गर्नुपर्ने समयमा माओवादी अध्यक्ष प्रचण्ड लामो समय राजधानी बाहिर बसेकामा दुई पार्टीबीचको एकता प्रयास संकटमा परेको अर्थमा चर्चा सुरु भएको थियो ।

दुई नेताबीच मात्र भेटघाट भएकाले के कुराकानी भएको भन्नेबारे जानकारी हुन बाँकी रहेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

उनले दुई नेताबीचको भेट र त्यस क्रममा भएका छलफलबारे जानकारी दिन विज्ञप्ति आउने जनाए । स्रोतका अनुसार पार्टी एकता र सरकारको नेतृत्वबारे सञ्चार माध्यममा अनावश्यक हल्ला चलेकामा दुई नेताबीच समीक्षा भएको छ ।

एकताका विषयमा अरु नेता राखेर छलफल गर्दा विषय बाहिर जाने र बाह्य तत्वले चलखेल गर्न सक्ने भएकाले वान टु वान वार्ता भएको एमालेका एक नेताले जानकारी दिए । गृहजिल्ला चितवनमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले दुई पार्टीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका थिए । तर, एमाले नेताहरुले भने उक्र दाबीको खण्डन गरेका छन् ।