काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो भेटबार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको एमाले एक नेताले हामीलाई बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षद्धय ओली र प्रचण्डले निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।

१–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी भएको छ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटले त्यसलाई चिर्ने काम गरेको बुझिएको छ ।

घाम ताप्दै यसरी गफिए ओली र प्रचण्ड

उच्च पदस्थ नेताहरुबीच ‘वन टु वन’ हुने कुराकानीको उद्देश्य नै गोप्यताका लागि हो। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै एक हप्तापछि यस्तै ‘वन टु वन’ कुराकानीमा सहभागी भए, बालकोटस्थित ओली निवासमा।

तर, गोप्यताका लागि गरिएको ‘वन टु वन’ कुराकानीका लागि चाहिँ दुबै नेताले गोप्य कोठा रोजेनन्, खुल्ला ठाउँ रोजे। दुबै नेता ओलीको घरको पहिलो तल्लाको कौसीमा गए, घाम तापेर चिया खाँदै झण्डै सभा घण्टा गफिए। ओली निवासबाट निस्कँदा पनि प्रचण्ड प्रसन्न मुद्रामा नै देखिए।

ओली निवासबाट निस्केका प्रचण्ड मात्र होइन, भेटपछि ओलीको सचिवालयले जारी गरेको तस्वीरमा पनि ओली र प्रचण्ड दुबै प्रसन्न मुद्रामा देखिन्छन्। खासमा प्रचण्डको ४ दिने चितवन बसाईंका कारण एमाले–माओवादी सम्बन्धमाथि जुन आशंका सिर्जना हुन पुगेको थियो, त्यो चिर्नका लागि मात्र आजको भेट भएको हो।

भेटपछि प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले मूलतः तीन विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको बताएका छन्। ती तीन विषय हुन्, पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश। उनले पनि छलफल सौहाद्र्व वातावरणमा छलफल भएको जानकारी दिएका छन्।

‘छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उहाँहरु बीच कुराकानी भएको थियो’ तिमिल्सिनाले भनेका छन्, ‘निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो।’

तिमिल्सिनाले भनेका छन्, ‘दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।’ नेपाल खबर बाट