काठमाडौं, पुस १२ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच छिट्टै पार्टी एकता हुने दावी गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने विश्वास दिलाए । उनले भने,‘राजपा र फोरमवीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’
आफूहरुले निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने,‘निर्वाचनमा हाम्रो विजयीसँगै आन्दोलनको जीत भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो वास्तवमा भन्नुहुन्छ भने मधेश आन्दोलनको जित हो, आन्दोलनको जुन एजेण्डा थियो, त्यसको जित हो।’
आफूहरुको राजनीतिक केन्द्रविन्दु र एजेण्डाको केन्द्रविन्दुमा संविधान संशोधन रहेको उनले बताए । उनले भने,‘संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं।’
उनले राष्ट्रिय राजनीतिको सन्र्दभ उल्लेख गर्दै आफूहरुको ध्यान सरकार बनाउनेतिर नभएको समेत जिकिर गरे । उनले भने,‘केन्द्रीय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन, हामी त संविधान संशोधनको पक्षमा छौं, संशोधन नहुञ्जेलसम्म हामी आन्दोलनमै रहन्छौं, संघर्ष गर्छौं।’ यद्धपी उनले संविधान संशोधनको पक्षमा जुन पार्टी आउँछ त्यसलाई केन्द्रीय सरकारमा आफूहरुको समर्थन रहने विश्वास दिलाए ।










