जनयुद्धकालिन मुद्धामा जेल सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेलले आफू गिरफ्तार पर्दा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्तिसम्म ननिकालेको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले अब प्रचण्डले जनयुद्ध लडेका नेता–कार्यकर्ताको संरक्षण नगर्ने पुष्टि भएको बताए । “आफ्नै पार्टीको पीबिएम जनयुद्ध कालको मुद्धामा गिरफ्तार पर्दासम्म त प्रचण्डले बोल्न सक्दैनन् । यसले अब उनी जनयुद्ध लडेका नेता–कार्यकर्ताको संरक्षण नगर्ने पुष्टि भएको छ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार ढुंगेललाई भेट्न गएका इमान्दार मिडिया संवाददातासँगको कुराकानीमा उनले आफूलाई मात्रै नभएर विभिन्न मुद्धामा अरु नेताहरुलाई पनि जेल हाल्ने तयारी भइरहेको बताए ।

उनले माओवादी केन्द्रका नेता अग्नि सापकोटासहितका नेताहरुलाई दोस्रो चरणमा गिरफ्तार गर्ने र अन्तमा प्रचण्ड र बाबुरामलाई गिरफ्तार गर्ने दाबी समेत गरे । “मलाई गिरफ्तार गर्न सफल भएपछि अब अग्निजीसहितका केही साथीहरुलाई तयारी गर्दैछन् र अन्तिममा प्रचण्ड र बाबुरामलाई नै गिरफ्तार गरिनेछ । त्यतिबेलो उनीहरुले विज्ञप्ति निकाल्ने कोही पाउने छैनन्” ढुंगेलले भने ।

उनले त्यसबाट बच्ने जति प्रयास गरेपनि एक दिन प्रचण्ड जेलमा जाने दाबी गरे । जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउनु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने- “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।”

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता चाँडो हुनुपर्ने धारणा ढुंगेलले राखे । उनले प्रचण्ड जनयुद्धका एजेण्डा छोडेर एमालेको संशोधनवादी एजेण्डालाई आत्मसात गरेका कारण दुबै पार्टीबीच एकता हुनु अनिवार्य जस्तै भएको बताए । “एउटै देशमा एउटै विचार बोक्ने दुई पार्टी सम्भव थिएन, एमाले र माकेबीच एकता पनि त्यही हो” ढुंगेलले भने ।

उनले गणतन्त्रको लागि लडेको माओवादी शक्तिलाई एमालेमा भित्र्याएर आफू असली गणतन्त्रवादी एमालेहरु सच्चा गणतन्त्रवादी हुन लागेको बताए । ढुंगेलले राणाको विरुद्ध लड्ने प्रजा परिषद्लाई काँग्रेसले आफूसँग मिसाएर प्रजातन्त्रवादी भएको दाबी गरे जस्तै एमालेले माओवादीलाई मिसाएर गणतन्त्रवादी हुन लागेको बताए ।

उनले दुई पार्टीको एकतालाई सच्चा गणतन्त्रवादीलाई सिध्याउने एमालेको चाल भएको दाबी गरे । एमाले र माकेबीचको एकताले क्रान्तिकारी शक्तिलाई बाटो खुला हुने बताउँदै नेता ढुंगेलले चाँडो एकता हुनुपर्ने धारणा राखे । “एमाले र माके घोर दक्षिणपन्थी हुन् । त्यो भन्दा ठूलो दक्षिणपन्थी काँग्रेस भएका कारण मात्रै यतिमै रोकिएका छन्” ढुंगेलले भने । उनले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरुले सोच्ने बेला आएको समेत बताए । इमन्दार मिडिया बाट