काठमाडौं, १३ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीका निवासमा बस्ने बैठकमा सरकार गठन, पार्टी एकीकरण र समग्र राजनीतिक विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय सभाको अध्यादेशका विषयमा पनि छलफल हुनेछ ।
‘बुधबार एमाले र माओवादीका अध्यक्षबीच वार्ता भएको छ’, उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेबारेमा कुराकानी भएको होला त्यही विषयमा छलफल हुन सक्छ ।’
बुधबार बालकोटमा एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा साथसाथै कुरा अगाडि बढाउने सहमति भएको थियो ।










