काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । विहिबार विहान बसेको पार्टीका दोस्रो तहका नेताहरुको बैठकले चुनाव अघि जनतामाझ गरिएको प्रतिबद्धताअनुसार पार्टी एकताका लागि दुबै दलका नेता कार्यकर्ता सक्रिय भई नेतृत्वलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा एकमत देखिएको नेता टोपबहादुर रायमाझीले जानकारी दिए । ‘ओलीलाई प्रधानमन्त्री बनाउन हामीहरु तयार छौं,’ उनले भने, ‘र, तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
एमाले स्थायी कमिटी बैठक बस्दै
यता पार्टी एकता र नयाँ सरकार गठनकै विषयमा भावी रणनीति बनाउन एमाले स्थायी समिति बैठक बस्दै छ । एमाले नेता भिम रावलले दिएको जानकारी अनुसार आज बस्ने बैठकले पार्टी एकतालाई तिब्रता दिने तयारी छ ।










