एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘आश्चर्यजनक रसुवागढी भ्रमण’का कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई टेलिफोन गरी वधाई दिएको नेपालका लागि भारतीय पूर्व राजदूत राकेश सुदले खुलासा गरेका छन् । नेपालमा भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीले चीनसँगको सीमा क्षेत्रमा गएर चिनियाँ रेल भित्र्याउने सम्भाब्यतावारे अध्ययन गरेपछि त्यसलाई दिल्लीले विशेष महत्वकासाथ हेरेको सुदले आफ्नो लेखमा उल्लेख गरेका छन् ।
उनले भारतले एमाले अध्यक्ष तथा नेपालका ‘वेटिङ प्राइममिनिष्टर’ ओलीसँग नयाँदिल्लीले पुन विश्वास आर्जन गर्नुपर्ने बताएका छन् । भारतीय राष्ट्रिय दैनिक हिन्दुमा बिहिबार प्रकाशित ‘पोष्ट–पोल छलफल इन नेपाल’ शीर्षकको लेखमा उनले ओलीसँग विगतमा दिल्लीले गुमाएको विश्वास पुनरार्जन गर्नुपर्ने बताएका हुन् । त्यसका लागि राजदूत सुदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही सुझाव दिएका छन् भने नेपालका भावी प्रधानमन्त्री ओलीका संभावित कदमबारे आफ्ना धारणा राखेका छन् ।
‘ओली चिनियाँ अँगालोको अति नजिक पुग्दाका जोखिम सहजै देख्न सक्ने स्मार्ट नेता हुन् भने दिल्लीले पनि ओलीको विश्वास पुन प्राप्त गर्न आवश्यक छ’ उनले लेखेका छन् । त्यसका लागि आफ्ना चासोहरु शान्तपूर्वक सम्वोधन गर्ने र एक अर्काबीच निरन्तर सम्पर्कमा रहन आवश्यक रहेको उनले बताएका छन् । ओलीको विश्वास पुन प्राप्त गर्नका लागि नेपालमा महाभूकम्पपछि भारतले पुनर्निर्माण र विकासका निम्ति प्रतिवद्धता जनाएका परियोजनाहरुको तत्काल र शीघ्र कार्यान्वयन अति उत्तम संकेत हुने सुझाव सुदले मोदीलाई दिएका छन् । उनले ‘छिमेकी पहिला’ भन्ने नीतिलाई कार्यान्वयन गर्दै अघि बढ्न सक्नु उपयुक्त हुने पनि बताएका छन् ।
निर्वाचनमा निर्णायक सफलता पाएपछि घरभित्र र भारतसँगको सम्बन्धमा ओलीले एक तहको व्यवहारवाद र सन्तुलन प्रदर्शन गर्नुपर्ने धारणा उनको छ । नेपालको आन्तरिक राजनीतिका साना साना विकासप्रति टिप्पणी गर्दै सुदले ओलीको रसुवागढीको आश्चर्यजनक भ्रमणलाई दिल्लीमा विशेष महत्वका साथ हेरिएको र त्यसैका कारण भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई फोन गरेको उनले बताएका छन् ।
‘ओलीको त्यो सरप्राइज रसुवागढी भ्रमण र त्यसको गेस्चरलाई दिल्लीमा नोट गरियो, जसको परिणामस्वरुप त्यसको दुई दिनपछि प्रधानमन्त्री मोदीले निर्वाचनमा विजय प्राप्त गरेकोमा वधाई दिनुभयो’ सुदले लेखेका छन् ।
ओलीको पहिलो नौ महिने प्रधानमन्त्रीत्वमा उत्पन्न भएको अप्रिय स्थितिबाट दुबै पक्षले बाहिर आउन आवश्यक रहेको भन्दै उक्त छोटो समयबाहेक ओली जहिले पनि नेपाल–भारतबीचको असल सम्बन्धको पक्षमा रहेको सुदको विश्लेषण छ ।
नेपालले चीन कार्ड प्रयोग गर्नु पर्ने नयाँ अवस्था नभएको तर चीनियाँ नेताहरुले समेत भारतसँगका मतभेद समाधान गर्दै अघि बढ्ने नेपाली नेताहरुलाई दिएको सुझावले परिस्थितिमा परिवर्तन आएको उनको बुझाई छ ।










