मध्य तथा सुदुर पश्चिम क्षेत्रको भ्रमण तथा आफ्नो समेत लगानीमा नेपालगञ्जमा निर्माण गरिएको चार तारे होटल सोल्टी सोल्टी सिबक्रिम होटल एण्ड रिसोर्टको उद्घाटनका लागि पूर्व राजा ज्ञानेन्द्र विहीबार अपरान्ह नेपालगञ्ज पुगे। उनको साथमा छन्, पत्नी कोमल, छोरी प्रेरणा तथा बुहारी हिमानी शाह। हिमानी नेपालगञ्ज पुगेकी छन् भने उनका पति पारश शाह चाहिँ कहाँ होलान्?

सुनाकोठीमा बहिनी शीताष्मा (धीरेन्द्र शाहकी माहिली छोरी) सँग बस्दै आएपनि पूर्व युवराज पारशको आजकल निर्मल निवास आउजाउ बाक्लिन थालेको छ। पत्नी हिमानीसँग उनको सम्बन्ध सुधारोन्मुखपनि छ। सायद त्यसैले होला, हिमानी सासु-ससुरा र नन्दसँगै नेपालगञ्ज पुगेपछि आफ्ना तीन छोराछोरीको हेरचाहमा पारश खटिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पारशपुत्र हृदयेन्द्र र छोरी कृतिका काठमाडौंमा पढ्दैछिन् भने जेठी छोरी थाइलैण्डको ब्याङ्ककमा पढ्छिन्। उता जाडो विदा सुरु भएकाले अघिल्लो हप्ता हिमानी आफै ब्याङ्कक पुगेर हिमानीलाई काठमाडौं ल्याएकी छन्। त्यसैले, पारश–हिमानीका तीनै जना छोराछोरी यतिबेला निर्मल निवासमा छन्। र, बाबु–आमासहित हिमानी नेपालगञ्जतर्फ लागेपछि उनीहरुको रेखदेखको जिम्मा पारशले नै पाएका छन्।

पत्नी हिमानीसँग पारशको सम्बन्ध सुमधुर नरहँदापनि पारशको छोराछोरीसँग सुमधुर सम्बन्ध रह्यो। ब्याङ्ककमा बसोबास छँदासमेत पारश छोराछोरीलाई भेट्न आइरहन्थे। जब स्थायी रुपमै ब्याङ्कक छाडेर आए, उनलाई निर्मल निवासमा प्रवेश दिइएन। केही समय धुम्बाराहीमा बसे। पछि उनी बहिनी सुनाकोठीमा बस्न गए। पत्नीसँग सम्बन्ध नराम्रो भएकाले उनी आफू बसेकै स्थानमा छोराछोरीलाई बोलाएर भेट गर्थे।

आमा हिमानीको बाबु पारशसँग सम्बन्ध राम्रो नभएपनि छोराछोरीले चाहिँ पारशलाई औधि मन पराउँछन्। निर्मल निवास स्रोतका भनाईमा, बरु व्यवहारमा हिमानी कडा छिन्। तर, वाहिरी छवि विवादास्पद भएपनि घरपरिवारमा चाहिँ पारश नम्र स्वभावका छन्। छोराछोरीप्रति उदारभाव राख्छन्। त्यही कारणपनि छोराछोरी उनीसँगै रहन रुचाउँछन्।