पुस १४ । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टुङ्गो लगाइएको नामावली अाजै निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिइन्। बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिइन्।

नेकपा माओवादी केन्द्रले प्रमुख तीन दलबीच राजनीतिक सम्झौता गरेर गतिरोध अन्त्य गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अड्किएको र कांग्रेस–एमाले आ–आफ्नै अडानमा रहेका बेला माओवादीले राजनीतिक सहमति गरेर निकास खोज्ने माध्ये मार्गी विकल्प सुझाएको छ ।

अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नगरेकोबारे निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट पायो भन्ने तोक्न सक्ने अवस्था नभएकाले अध्यादेश र नयाँ सरकार गठनबारे प्रमुख तीन दल एमाले, कांंग्रेस र माओवादीको बीचमा समझदारी गर्नु पर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

त्यसैगरी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेट र बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलको बिषयबारे जानकारी गराएको बताइएको छ ।