काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण भएसँगै राजनीतिक गतिरोध हल भएको छ । यो सँगै अव नयाँ सरकार गठनको बाटो पनि खुलेको छ । नयाँ प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने निश्चितप्रायः छ । सँगै राष्ट्रपति को बन्छ भन्ने बहश पनि शुरु भएको छ । एमाले र माओवादी केन्द्र मिलेरै सरकार बनेको खण्डमा राष्ट्रपति पनि यीनै दुई दलका नेता मध्ये एक बन्नेमा शंका छैन ।
भावी राष्ट्रपतिका रुपमा वाम गठबन्धनभित्रका तीनजनाको नाम चर्चामा छन् । एउटा विद्यादेवी भण्डारीले पुनः राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको श्रोतको दावी छ । एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई तपाई राष्ट्रपति नबन्ने भए अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने बताएकोले बिद्या नै राष्ट्रपति रहन सक्ने सम्भावना पनि उत्तिकै छ ।
वाम एकताका लागि छलफल चल्दै गर्दा झलनाथ खनालले राष्ट्रपतिमा आफ्नो दावी देखाएको नेताहरु बताउँछन् । प्रधानमन्त्रीमा ओलीले र पार्टी अध्यक्षमा प्रचण्डले दावी गरेपछि पार्टीभित्र आफु छायाँमा पर्न सक्ने भन्दै खनालले राष्ट्रपति हुँदै राजनीतिबाट सेफ ल्याण्ड हुन खोजेका छन् । पार्टी एकतापछि नेताहरुको व्यवस्थापनको सन्दर्भमा खनाललाई व्यवस्थापन गर्ने यो उपयुक्त बिकल्प हुन पनि सक्दछ ।
तर, एमालेले पाँचवर्ष प्रधानमन्त्री चलाउँदा माओवादीले राष्ट्रपतिचाहिँ आफूले माग्न सक्ने अवस्थासमेत रहेको माओवादी नेताहरुको तर्क छ । यही आधारमा रामबहादुर थापा बादललाई पनि भावी राष्ट्रपतिको रुपमा हेरिएको छ । यदि राष्ट्रपति माओवादीको भागमा परेको खण्डमा बादललाई नै राष्ट्रपतिको रुपमा अगाडि सार्ने माओवादी स्थायी समितिले निर्णय नै गरिसकेको छ । तसर्थ एमाले र माओवादी केन्द्र मिलेरै सरकार बनाएको खण्डमा भावी राष्ट्रपतिको रुपमा बिद्या भण्डारी, झलनाथ खनाल र रामबहादुर थापा बादलमध्ये एक हुने आँकलन गरिएको छ । छलफल बाट सभार










