काठमाडौँ- झण्डै ११ घण्टा लामो छलफल, बीचमा केही बाझाबाझ र आरोपप्रत्यारोपपछि नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्यका लागि ७२ जनाको सूची निर्वाचन आयोग समक्ष शुक्रबार साँझ पेश गरेको छ।

दिनभरि प्रधानमन्त्री निवास बालुवाटारमा चलेको बैठकमा केही प्रभावशाली नेताहरुले सदस्य छनौटमा पार्टीका योग्य उम्मेदवारलाई पाखा पारिएको आरोप नेतृत्वमाथि लगाए पनि अन्ततः पार्टीको भागमा परेका ७२ जनाको नामसहित पार्टीका मुख्य सचिव कृष्ण पौडेल आयोग कार्यालय पुगेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, सूची आयोगमा पठाइसकेपछि पनि कार्यसम्पादन समितिको बैठक बालुवाटारमा चलिरहेको र त्यसमा सदस्यहरुको असन्तुष्टि व्यक्त गर्ने सिलसिला जारी नै रहेको बैठकमा सहभागि एक सदस्यले देशसञ्चारसँग बताए। म्याद छोप्न पोडेल आयोग कार्यालय पुगे पनि त्यसको ४० मिनेटपछि मात्रै बैठकमा नाम पढेर सदस्यलाई सुनाइएको थियो।

बैठकमा रामशरण महत, अर्जुननरसिंह केसी, कृष्ण सिटौला र रामचन्द्र पौडेल सूचीको नामप्रति आलोचनात्मक बनेका थिए। हतारमा सूची तयार गर्ने, त्यत्तिकै हतारमा छलफल गर्ने र त्यसमा पनि आफ्नालाई घुसाउन जालझेल गर्ने प्रवृत्ति बन्द हुनुपर्ने उनीहरुको माग थियो। वादविवाद तीब्र भएपछि पौडेलले बैठक बहिष्कारसमेत गरेका थिए तर अन्य नेताको आग्रहमा उनी फेरि बैठकमा सहभागी भएका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले आयोगले निर्धारित गरेको समयसीमाभित्र सूची बुझाउनुपर्ने बाध्यता रहेको भन्दै नामहरु पठाए पनि निर्धारित मापदण्ड अनुरुप नभएको ठहर भई त्यसलाई सच्चाउन पर्ने सदस्यहरुको असन्तुष्टिलाई त्यसबेला पनि सकेसम्म सम्बोधन गरिने आश्वासन दिएर बैठक औपचारिकरुपमा टुंग्याएका थिए। तर, त्यो आश्वासनबाट आश्वस्त हुन नसकेका सदस्यहरु त्यहाँ बसि नै रहे र छलफलको क्रम साढे ८ बजेसम्म पनि चलिरहेकै बुझिएको छ।