माओवादी केन्द्रका नेता ओनसरी घर्ती र वर्षमान पुनलाई धरधरी रुवाएका रोल्पाका शहिद परिवार मंगले बुढाको घर निर्माण गरिदिने भएका छन् । माघ २ गते शहीद परिवार मंगले बुढाको नयाँ घरनिर्माण कार्यको शिलान्यास हुने बताइएको छ ।

रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भए लगत्तै शहीद परिवारहरू भेट्न जेलबाङमा पुगेका माओवादी युवा नेता वर्षमान पुन ‘अनन्त’, निवर्तमान सभामुख ओनसरी घर्तीमगर सहितको टोलीले शहीदका बुवा आमाको दुःख सुनेर बरबरी आंशु झारेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कान्तिपुर टेलिभिजवाट प्रशारण हुने विविसी मिडिया एक्सनको कार्यक्रम साझा सवालमा सो सम्बन्धि सामग्री प्रशारण भएको थियो । सो कार्यक्रममा शहिद परिवार मंगले र उनकी पत्निको कुरा सुनेर दुवै माओवादी नेता धरधरी रोएका हुन् । ओनसरीको गला अवरुद्ध भएर बोल्न समेत सकेकी थिइनन् ।

आफ्नो एकमात्रै छोरा भवन बुढामगरलाई जनयुद्धमा गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको फुसको छाना भएको घर छ । वर्ष याममा चुहिने छाना, शरिरमा एकसरो लुगामा रहेका ति दम्पत्तीको अवस्था निकै दयनिय छ । छोरी ज्वाईको सहायतामा दिन काटेका ति परिवारले शहिद परिवारले सरकारवाट पाउनु पर्ने रकम समेत पाएका छैनन् ।

वर्षमान र ओनसरीले कार्यक्रममै शहिद परिवारको घर टिनको छानाले छाउने बचनवद्धता जनाएका थिए । सोही बचनवद्धता अनुसार उनीहरुले शहिद परिवारको घर निर्माण गरिदिने भएका हुन् ।

माओवादी नेताको सहयोगमा बुढेसकालमा नयाँ घर बन्ने भएपछि मंगले बुढा निकै खुसी भएका छन् । उनले भने, मेरो छोरा जनयुद्धमा गुमाए पनि तपाई छोरा भएर आउनुभयो । उनले जिवनको अन्तिम अवस्थामा भए पनि नयाँ घर बनाईदिन लागेको भन्दै वर्षमान पुन अनन्तलाई धन्यवाद दिए ।

घर बनाउने सन्देश सुनाउन वर्षमान र ओनसरी जेलबाङका शहीद भुबन बुढामगरको घर पुगेका थिए । उनीहरुले भुवनको घरबाट ५ वर्ष भित्र रोल्पा जिल्लालाई जस्ताको छानोयुक्त घर बनाउने नमूना कार्यक्रम जेलबाङबाटै शुरु गर्ने बचनवद्धता जनाए । सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रमअन्तर्गत नेता अनन्त माघ २ मा जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको लागि घर निर्माण गर्न शिलान्यास गर्न कार्यक्रम रहेको छ । अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम मंगले परिवारले पाएको छ ।