समानुपातिक सांसद छनोटलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद चर्किएको छ । दिनभरको चर्को विवादका बीच शुक्रबार राति करिब १० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाई निर्वाचन आयोगमा सूची बुझाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्टि जनाउँदै ‘माइन्युट’ मा हस्ताक्षरसमेत नगरी बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रदेशसभा समानुपातिक सांसद टुंग्याउन बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पौडेलका साथै कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य बलबहादुर केसीले हस्ताक्षर नगरेका हुन् । बैठक निर्वाचनमा पार्टी पराजय भएको विषयलाई पन्छाउँदै समानुपातिक सांसद छनोटबारे केन्द्रित भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने भन्दै प्रदेशसभातर्फको समानुपातिक सांसद छनोटतर्फ बैठकलाई मोडेका थिए । निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि विशेष महाधिवेशन बोलाउन माग भइरहेका बेला पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । बिहानैदेखि बसेको बैठकमा समानुपातिक प्रदेश सदस्य छनोट गर्ने विषयमा लामो विवाद भएको थियो । सदस्य छनोटका लागि बनाइएको मापदण्डविपरीत पार्टी संस्थापन पक्षले असन्तुलित ढंगबाट समानुपातिक सांसद छनोट गर्न लागेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो, कान्तिपुरमा खबर छ ।