बाँके, पुस १४ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नेपालगन्जका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र परिवारका सदस्यहरु पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेक्षाका साथमा २ साताका लागि बिहीबार नेपालगन्ज आइपुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा रहेकै अवस्थामा राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा शनिबार नेपालगन्ज आउन लागेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रको सन्देश प्राप्त गरेपछि उपप्रधानमन्त्री थापा शनिबार केही समयका लागि नेपालगन्ज आउन लागेका हुन् । पूर्वराजासँग भेटघाटका लागि थापा नेपालगन्ज आउन लागेको थापा निकट स्रोतले जनाएको छ ।

‘बिहीबारसम्म अध्यक्षज्यू नेपालगन्ज आउने कुनै जानकारी थिएन’, स्रोतले भन्यो, ‘एकाएक दरबारको सूचना पाएपछि अध्यक्षज्यू केही समयका लागि नेपालगन्ज आउन लाग्नुभएको छ ।’

थापासम्वद्ध स्रोतका अनुसार नेपालगन्जमा पूर्वराजा र थापाबीच भेटघाट हुनेछ । पूर्व राजपरिवारको सबै कार्यक्रम अत्यन्त गोप्य राखिएका कारण  धेरै जानकारी प्राप्त हुन नसकेको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्री थापा शनिबार नै राजधानी फिर्ता हुने कार्यक्रम तय भएको छ । थापाको कार्यक्रमलाई पूर्व निर्धारित बनाउनका लागि एकाएक अगुवा कार्यकर्ता भेटघाट पनि राखिएको छ । यसैबीच नेपालगन्जमा रहेका पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार पनि आफू निकट राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेका छन् ।

पूर्व राजपरिवार आफ्नो परिवारको लगानी रहेको भनिएको होटल सोल्टीमा  कडा सुरक्षाकाबीचमा छन् । होटल सोल्टीको पूर्वराजा शाहले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्वराजाले  २ साताको अवधीमा मध्य र सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । नेपाली पत्र बाट