नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएका छन ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित पुस्तक ‘‘नेपाल नवनिर्माण महाअभियान’’ को शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको भन्दै समृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उल्लेख विश्वास दिलाए ।

राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफूहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए ।

पुस्तकमा पनि नेपालमा विकासको नया गति सुरु भएन भने देश निकै अप्ठ्यारोमा पर्न पनि सक्छ भन्ने मान्यता अनुसार विकासको १० बर्षे कार्ययोजना प्रस्तुत भएको आफुले पाएको अध्यक्ष दाहालले बताए।

दाहालले एमाले उपाध्यक्ष गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोर्नुपरेको पराजयप्रति सहानुभूति पनि जनाए। यद्यपि उनले गौतमको नेपाल नवनिर्माण गर्ने चाहना पूरा गराउने सवालमा उपयुक्त वातावरण बनाउने प्रतिवद्धता पनि जनाए।