नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी एकतापछिा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी भूमिका नखोज्न सुझाव दिएका छन्।

एमाले सञ्चार इलाका कमिटीले आइतबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा सचिव भट्टराईले ओली र प्रचण्डलाई दक्षिण अफ्रिकी नेता नेल्शन मन्डेलाजस्तै सम्मानित बन्ने अवसर आएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एकता घोषणा भएकै दिन ओली र प्रचण्डजीले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ,’ उनले भने, ‘त्यसो भए उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुन्छ।’ उनले दुवै नेतालार्इ यसलार्इ अवसरका रुपमा लिन सुझाव समेत दिए।

उनले ओली र प्रचण्डले मात्र नभइ वाम गठबन्धनका केही शीर्ष नेताले समेत विदा लिनु राम्रो हुने सुझाव दिए।

‘माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ’, उनले भने, ‘अब उहाँहरुले अवकाश लिएर युवाहरुलाई अवसर दिँदा राम्रो हुन्छ।’

एमाले प्रचर विभागको प्रमुख समेत रहेका सचिव भट्टराईले पराजयपछि पनि कांग्रेस सत्तामा रहिरहनु राजनीतिक बेइमानी भएको बताए। उनले विश्वमा प्रधानमन्त्रीको पार्टीले चुनाव हार्दा नतिजासँगै राजीनामा दिने प्रचलन रहेको भन्दै प्रधानमन्त्री देउवाले राजनीतिक नैतिकता र इमान्दारिता देखाउन नसकेको आरोप लगाए।

वाम एकतासँगै कांग्रेसको सत्ताका दिन पनि समाप्त भएको भन्दै उनले कांग्रेस अबको ५० वर्ष सत्तामा नआउने ठोकुवा गरे।

सचिव भट्टराईले राष्ट्रिय सभाका लागि पुनः दल दर्ताको कार्यतालिका प्रकाशित गरेर निर्वाचन आयोगले नौटंकी गरेको आरोप लगाएका छन्। उनले निर्वाचन आयोगका काम सन्तोषजनक नभएको भन्दै सुधार गर्न र आफ्नै विवेकले काम गर्न समेत सुझाब दिए। नेपाल खबर बाट