माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले र माओवादीबीच एकतापछि नेताहरुको समायोजनका क्रममा प्रचण्डलाई सह–अध्यक्ष बनाउने चर्चा चलाउनेहरुले प्रचण्डको अपमान गरेको टिप्पणी गरेका छन् ।
उनले प्रचण्ड मुलुकका समकालिन नेताहरुमा सबैभन्दा क्षमतावान र मुलुकका लागि अत्यावश्यक नेता भन्दै अपमान नगर्न आग्रह गरे । एमालेका केही नेताले प्रचण्डलाई सह–अध्यक्ष बनाउने बताउँदै हिंडेका बेला पौडेलले त्यसको प्रतिवाद गरेका हुन् । उनले एकता गर्दा सरकार वा पार्टीको नेतृत्वमध्ये एक प्रचण्डले नपाउने अवस्थामा एकता प्रक्रिया नै जटिलतामा फस्ने उनको भनाइ थियो । पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी एकताका पक्षमा जनादेश आएकाले कसैले पनि दम्भ प्रदर्शन गर्न नहुने उनको भनाइ थियो ।
‘प्रचण्ड यो देशका लागि जरुरी नेता हुनुहुन्छ’, राजधानीको बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग उनले भने, ‘पार्टी एकतापछि प्रचण्डलाई सह–अध्यक्ष बनाउने प्रस्ताव उहाँको अपमान हो, यस्ता कुरा कसैले नगरौं ।’ पौडेलले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूहरुको बटमलाइन भएकाले त्यसबाट दायाँबायाँ गरेर एकतामा नजाने प्रष्ट्याए । यस्तै राष्ट्रपति र संसदका सभामुखमध्ये एक÷एक पद बाँड्नुपर्ने सर्त उनको थियो ।
राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता झलनाथ खनालको रुची रहेको पौडेलले बताए । माओवादी नेता रामबहादुर थापाको नाम पनि चर्चामा आएको तर, बादल स्वयं त्यसका लागि तयार नभएको पौडेलले जनाए । एकता गर्दा प्रचण्ड, केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतको व्यवस्थापन सही तवरले नभए एकता दिगो नहुने उनको टिप्पणी छ ।
उनले काँग्रेसले बाम गठबन्धन भत्काउन प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री प्रस्ताव गरे पनि आफूहरुले अस्वीकार गरेको विषयलाई एमालेले बुझ्न सक्नुपर्ने पौडेलले उल्लखे गरे । ‘काँग्रेसले हामीलाई पाँच वर्ष सरकार चलाउन लेखेरै दिन्छु भनेको छ’, उनले भने, ‘हामी बरु जिल्ला कमिटीमा बसेर काम गर्न तयार छौं, तर मुख्य नेताहरुको सम्मानसहित एकता हुनुपर्छ ।’काठमाण्डु टुडे बाट










