नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ विषयक बृहत् भेलामा उहाँले पार्टी संस्थागत ढंगले चल्न नसक्दा नेवि संघ कमजोर भएको बताउनुभयो । “पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो”– उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री पनि रहनुभएका सिंहले कुनै पनि निर्णय गर्दा पार्टीका नेताहरुको राय सुझाव नलिएका कारण पार्टी कमजोर भएको बताउनुभयो । “काँग्रेस बिरामी भएको छ, यसलाई निको पार्न राम्रो डाक्टरको आवश्यकता छ,”– उहाँले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता सिंहले पार्टी नेतृत्वले पदाधिकारी, केन्द्रीय समिति, विभागलाई दुई महिनामा पूर्णताः दिनुपर्नेमा दुई वर्षसम्म पनि गर्न नसक्नु दुःखद कुरा भएको बताउनुभयो ।

उहाँले बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरू आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उहाँले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले राष्ट्रियताको माया गरेर विसं २०३३ सालमा स्वदेश फर्केका नेताको पार्टीलाई राष्ट्रियताको चर्को नारा लगाएर अरु राजनीतिक दलले निर्वाचनमा हराउनु दुःखद कुरा भएको बताउनुभयो ।

उहाँले काँग्रेसले राष्ट्रियता र लोकतन्त्रबारे जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो । काँग्रेसले भ्रातृ संस्थालाई उचित सम्मान गर्न नसकेको उहाँको भनाइ थियो । रासस