माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईबीच आइतबार भेटवार्ता भएको छ ।
प्रचण्ड आफैंले पहल गरेर भट्टराईलाई भेटेका हुन् । भेटमा प्रचण्डले पार्टीमा फर्कन भट्टराईलाई आग्रह गरेका थिए । जवाफमा भट्टराईले एमाले र माओवादीबीच एकतापछि पार्टीको नाममा कम्युनिष्ट नराखे आफू फर्कने जवाफ दिएका छन् । ‘अध्यक्ष प्रचण्ड र बाबुरामजीबीच निर्वाचनपछि दुईपटक भेट भयो । आजै मात्र पनि उहाँहरुको भेट भएको छ’, आइतबार राजधनाीमा सीमित सञ्चारकर्मीसँग माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने, ‘अध्यक्षले पार्टीमा फर्कन आग्रह गर्नुभयो ।
उहाँले (भट्टराईले) पार्टीको नाममा कम्युनिष्ट शब्द नराखे सजिलो हुन्थ्यो भन्ने कुरा गर्नुभएको छ ।’ पौडेलले भट्टराई मुलुकका लागि आवश्यक नेता भए भएको र ज्ञान भए पनि कला नभएकाले नयाँ शक्ति फस्टाउन नसकेको टिप्पणी गरे । पौडेल नयाँ शक्ति छाडेर पुनः माओवादीमा फर्किएका हुन् ।
पौडेलले प्रवृत्तिका हिसाबले भट्टराई काँग्रेसमा जान नसक्ने बरु कम्युनिष्ट कित्तामै फर्कने विश्वास व्यक्त गरे । ‘विचार, आन्दोलन र ज्ञानका हिसाबले पनि उहाँ नेपाली काँग्रेसको कित्तामा जान सक्नुहुन्न’, पौडेलले भने,उहाँ अन्ततः आउने यतै हो ।’










