बिगत बर्षहरुको तुलनामा झापामा यो बर्ष बालिकामाथी बलात्कारको घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन २०१६ को तुलनामा २०१७ मा बालिकामाथी झण्डै दोब्बरको संख्यामा बलात्कारको घटना भएको हो ।
२०१६ मा झापा जिल्लाभर ९ जना बालिकामाथी बलात्कार भएकोमा यो बर्ष त्यो संख्या १७ पुगेको छ । महिलामाथी पनि बलात्कारको घटना बढेको इन्सेकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । अघिल्लो बर्ष ६ जना महिलामाथी बलात्कारको घटना सार्वजनिक भएको झापामा यसबर्ष ९ जना महिला बलात्कारको शिकार भएको पाइएको छ । यस अवधिमा एकजना बालिका सहित ४ जनामाथी बलात्कार प्रयास भएको इन्सेकका झापा प्रतिनिधि अर्जुन बस्नेतले बताए ।
झापामा राज्यपक्षबाट एकजनाको हत्या र ५ जनाको अंगभंग भएको प्रतिवेदनमा उल्लेख छ । अर्जुनधाराका लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणपछि आयोजना भएको बिरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधाराका नरेश थापामगरको मृत्यू भएको थियो । तयो घटनामा अन्य ५ जना घाइते भएका थिए । घाइतेहरुको बिर्तामोड र काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी गैरराज्यपक्षबाट चारजनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटी, दमक २ की बालिका सरिता लामिछाने, अर्जुनधारा १० का ओमबहादुर लिम्बु, दमक ९ शान्तिचोकका बिदुर नेपालीको गैरराज्यपक्षबाट हत्या भएको थियो । नेपालीको उनकै श्रीमति सानुमायाँ दर्जीले कुटपिट गरी हत्या गरेको प्रतिवेदनमा उल्लेख छ ।
हत्या, बलात्कार, बलात्कार प्रयास जस्ता घटना झापामा यो बर्ष ३८ वटा तथ्यांकमा समेटिएका छन् । बालिका बलात्कारको हकमा भने नजिकका वा आफन्तकै संलग्नता बढी पाइएको बस्नेतले बताए । उनले यो बर्ष घटना बढेको नभई मिडिया वा जनचेतनाका कारण बिगत बर्ष भन्दा यो बर्ष घटना बढी सार्वजनिक भएको हुनसक्ने धारणा राखेका छन् ।
खासगरी बलात्कारजन्य घटना बढ्नुमा इन्टरनेट तथा मोवाइल प्रमुख कारण भएको बुझाइ बस्नेतको छ । राजनीतिक दलहरु पनि अपराधमा संलग्न ब्यक्तिलाई संरक्षण गर्न छोडेसँगै बिगतका बर्षहरुमा भन्दा यो बर्ष धेरै घटना सार्वजनिक भएको उनको भनाइ छ । खासगरी अर्जुनधारा, बिर्तामोड, दमक जगरपालिकामा बालिका बलात्कारको घटना अन्यत्रभन्दा अत्याधिक भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकले मानवअधिकारका घटना उल्लंघन भएको घटना समेटेर प्रत्येक बर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।










