प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता सुवास नेम्वाङप्रति टिप्पणी गर्दै भने– एमाले नेताहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फका परिणाम सार्वजनिक गर्न कानुनी प्रक्रिया के छ भनेर नजानेकाले त्यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम आएको एक महिना वितिसक्दा पनि निर्वाचन आयोगले समानुपातिकतर्फको परिणाम सार्वजनिक नगरेपछि वहुमत पाएको वाम गठबन्धनका नेताहरुले आयोगको काम कारवाहीप्रति शंका गर्दै आएका छन् । त्यही प्रसंगमा प्रमुख आयुक्त यादवले एमाले नेताले कानुन नबुझेको भन्दै आरोप लगाएका हुन् । त्यसो त अर्थशास्त्र पढेका प्रमुख निर्वाचन आयुक्त यादवले वरिष्ठ अधिवक्ता रहेका र तीन पटक सभामुख र संविधानसभाको अध्यक्ष भएर अहिलेको संविधान बनाउन नेतृत्वदायि भूमिका खेलेका नेम्वाङलाई संविधान नै नबुझेको भनी गरेको टिप्पणीप्रति आश्चर्य ब्यक्त गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

के एमाले नेताहरुले कानुन नबुझेका हुन् त ? के संविधान जारी गर्न प्रमुख नेतृत्व लिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्व कानुनमन्त्री अग्नि खरेललगायतका नेताहरु रहेको एमालेले प्रतिनिधिसभा समानुपातिक परिणाम सार्वजनिक गर्न प्रक्रिया नजानेकै हो त ?

एमालेका एक नेता भन्छन्– ‘अयोधीजीले कुरा फेर्नुभयो । उहाँ कता वहकिनु भयो हामीलाई पनि अचम्मै लागेको छ ।’ एमालेका ती नेताले किन प्रमुख आयुक्त यादवका वारेमा त्यस्तो टिप्पणी गरे ?

घटनाक्रम यस्तो छ 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलहरुबीच सहमति गर्ने प्रयासस्वरुप पुस ५ गते वाम गठवन्धनका प्रमुख नेताहरुलाई शितलनिवास बोलाउनु भयो । त्यस भेटवार्तामा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ ।

जव वाम गठबन्धनका नेताको राष्ट्रपतिसँग वार्ता सकियो, उनीहरु आन्तरिक बैठक गर्ने भन्दै दाहाल प्रचण्ड निवास पुगे । उनीहरुबीच छलफल भइरहेकै बेला प्रमुख आयुक्त यादवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर भेट्ने चाहना राखे । प्रमुख आयुक्तको चाहना बमोजिम नै उनलाई दाहाल निवासमा बोलाइयो, जहाँ नेताहरुबीच छलफल भइराखेको थियो ।

प्रमुख आयुक्त यादवले दुबै पार्टीका शीर्ष नेताहरुबीच आफ्नो कुरा राख्न पाउँदा झन् सहज भएको भन्दै कुरा सुरु गरेका थिए । यादवले आफ्नो धारणा राख्नुअघि पहिला दुबै पार्टीका नेताहरुले प्रतिनिधिसभातर्फको परिणाम सार्वजनिक गर्न किन ढिलो गर्नुभएको हो ? कहिलेसम्ममा गर्नुहुन्छ ? परिणाम सार्वजनिक गर्न के ले रोक्यो ? भन्ने प्रश्न राखेका थिए ।

त्यसबेला यादवले तीन दिनभित्र परिणाम सार्वजनिक गर्ने भन्दै वाम नेताहरुलाई विश्वास दिलाएका थिए । उनले त्यसबेला भनेका थिए, ‘म सबैलाई भेट्छु । कानुन पनि हेर्छु । र, २/३ दिनभित्र राष्ट्रपतिकोमा रिपोर्ट पठाउँछु । अव रोकिंदैन ।’

एमाले र माओवादीका प्रमुख नेताहरुलाई दाहालकै निवासमा गएर ३ दिनभित्र परिणाम सार्वजनिक गर्ने विश्वास दिलाएका प्रमुख आयुक्त यादवले त्यसो भनेको १० दिन बितिसक्दा पनि नतिजा सार्वजनिक भएको छैन ।

यादवले नेताहरुलाई भने बमोजिम लगत्तै निर्वाचन आयोग फर्केर यावदले कर्मचारीलाई त्यसको गृहकार्य गर्न पनि लगाएका थिए । कर्मचारीले त्यसै बमोजिम रिपोर्ट तयार पारेर प्रमुख आयुक्त यादवलाई बुझाए पनि । तर परिणाम भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

श्रोतका अनुसार, त्यसपछि प्रमुख आयुक्त यादवको भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवादेखि भारतीय राजदूत र खुफिया एजेन्सीका अधिकारीसँग बाक्लियो । हो, त्यहाँबाट आयोगले कानुनी अवरोधका नाममा परिणाम सार्वजनिक गरेको छैन । उल्टै प्रमुख आयुक्त यादव एमाले नेताहरुमाथि कानुन नबुझेको आरोप लगाउँदैछन् ।

‘नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढ्नेक्रममा रहेका बेला भारतीयहरुको दवावमा निरन्तर अस्थिरता पैदा गर्ने प्रयास भइरहेको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेर बिकास र स्थिरतातर्फ अघि बढ्ने सुनिश्चित हुँदा भारत अत्तालिएको छ ।