कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का नवनिर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाल मलेसिया पुगेको खुलासा भएको छ ।

सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसियाको राजधानी क्वालालम्पुर गएको खुलेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवालमाथि मंगलबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं परिसरले पक्राउ गरी बुझाउन प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो ।

यता एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलवाल फरार नभएको बताए । ‘उहाँ कार्यक्रममा भाग लिन मलेसिया जानुभएको हो, फरार भएको होइन्, कतिपय सञ्चार माध्यमले फरार भयो भनेर गलत सूचना प्रवाह गरिरहेका छन् । भ्रममा नपर्न आग्रह गर्दछौं,’ उनले भने ।