काठमाडौं, पुस १९ । नेपाल प्रहरीले नेकपा एमालेका नवनिर्वाचित सांसद तथा पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न होइन, उपस्थित गराउनका लागि पत्राचार गरेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले महानगरीय प्रहरी परिसर ललितपुरलाई गरेको पत्राचारमा सिलवाललाई उपस्थित गराउन अनुरोध गरेको छ ।

परिसरले पठाएको पत्रमा भनिएको छ, ‘यस कार्यालयमा दर्ता भएको (मुद्दा दर्ता नं. २८३/०७४/०७५) मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नु पर्ने भएको हुँदा निम्न स्थान बतन भएका व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । निम्न ः १( जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ४ वतन हुने झपटबहादुर सिलवालको नाति दिलबहादुर सिलवालको छोरा वर्ष ५५ को भूपू प्र.ना.म.नि. नवराज सिलवाल ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकन फारम फरकफरक देखिएकाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आदेश दिएको थियो । सो आदेशअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको जाहेरीअन्तर्गत अनुसन्धानका लागि सिलवाललाई उपस्थित गराउन सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरिएको बुझिएको छ ।

सिलवाल भने पूर्वनिर्धारित कार्यक्रमका लागि सोमबार साँझ एयर एसियाको नियमित उडानबाट मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।