नेकपा एमालेबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रममका लागि मलेसिया पुगेको भन्दै ‘फरार’ नभएको जानकारी दिएका छन् ।

मलेसियाबाट सञ्चारकर्मीसँग टेलिफोनमा कुराकानी गर्दै पूर्व डिआइजीसमेत रहेका सिलवालले भने, ‘म भागेको भन्ने हल्ला मात्र हो। पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसिया आएको हूँ।’ आफू ‘एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी’द्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। उनले भने, ‘म धेरै पहिला नै निर्धारित भएको कार्यक्रममा भाग लिन आएको हो। सारा मुलुकलाई थाहा छ, मैले कुनै गलत काम गरेको छैन। शेरबहादुर देउवाले चुनावको हारको पीडा कम गर्न राजनीतिक प्रतिशोध साध्न म माथि प्रहारको प्रयास गरेका हुन।’

उनले भने, ‘पक्राउ पुर्जी कसरी र कस्ता व्यक्तिलाई थुनामा राख्दा दिइन्छ जानकारी नहुनेले जथाभावी प्रचार गरेका छन्। म जोसुकैलाई पनि लाई जवाफ दिन तयार छु। कानून राम्ररी बुझेको छु। जनताको पपुलर भोटबाट चुनिएको प्रतिनिधि हुँ। म भाग्ने मान्छे होइन।’