माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको समर्थनमा आफू प्रधानमन्त्री नबन्ने स्पष्ट गरेका छन् । उनले बाम गठबन्धन बाहिरबाट आफू प्रधानमन्त्री बन्ने कुरा नसोचेको टिप्पणी गरे । ‘मैले बाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री बन्नेबारे सोचेको छैन’, उनले भने । प्रचण्डले यसअघि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको गठबन्धन तोडेर आफूहरुसँग मिले प्रधानमन्त्रीका लागि समर्थन गर्न गरेको प्रस्ताव अस्वीकार गरेका थिए ।

उनले एमाले र माओवादीबीच एकता हुने समेत बताए । दुई पार्टी एकता गर्ने प्रतिबद्धतासहित निर्वाचनमा गएको र त्यसलाई जनताले अनुमोदन गरेको भन्दै उनले गठबन्धनभन्दा दायाँबायाँ नलाग्ने प्रष्टीकरण दिए । प्रचण्डले पार्टी एकतामा जटिलता हरेको भन्ने प्रचारबाजीको पनि खण्डन गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्राविधिक कारणले मात्र एकता संयोजन समितिको बैठक बस्न नसकेको स्पष्ट गर्दै प्रचण्डकै छिट्टै बैठक बसेर एकताको विषय टुंगो लाग्ने बताए । पद भागबण्डाको विवाद मिलिसकेको दाबी उनले गरे । ‘हाम्रो बीचमा पदका विषयमा कुनै विवाद भएको होइन’, उनले भने, ‘, पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ । दुबै नेता कार्यकारी भूमिका हुनुपर्छ भन्नेमा विवाद छैन ।’