माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सुटुक्क भेट गरेका छन्।
सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेस र गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेबीच सेतुको काम गरिरहेका प्रचण्ड र राष्ट्रपति भण्डारीबीच बुधबार विहान भेटघाट र कुराकानी भएको हो।
राष्ट्रपति भण्डारीसँग भेटका लागि अध्यक्ष प्रचण्ड साँढे १० बजे राष्ट्रपति निवास पुगेका थिए। तर, उनी त्यहाँ पुगेको कसैलेपनि जानकारी पाएनन्।
झण्डै डेड घण्टा बिताएर उनी राष्ट्रपति कार्यालयबाट बाहिरिएका थिए। बुधबार दिउसो भएका केही भेटहरुमा राष्ट्रपतिसँग आफ्नो भेट भएको प्रचण्डले चुहाए।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सत्ता छाड्न ढिलाई गरिरहेको छ भने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्वको अवसर पाएको एमाले चाहिँ सरकारमा जान हतारिएको छ।
प्रदेश प्रमुखको चयन, प्रदेशको राजधानी लगायतका विषयमा अझै पनि राजनीतिक दलहरुबीच अन्तिम सहमति हुन सकिरहेको छैन।
गतिरोध फुकाउन पहिलो र दोस्रो ठूलो दल बनेका एमाले–कांग्रेसबीच सम्बाद हुनुपर्ने भएपनि दुई दलबीचको तिक्तता बढ्दो छ। दुई दलबीच सम्बाद र सहमति निर्माणको भूमिका प्रचण्डले निर्वाह गरिरहेका छन्।
उनकै सक्रियतापछि प्रधानमन्त्रीले विहीबारका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बोलाएका छन्।
स्रोतका भनाईमा, वर्तमान गतिरोध फुकाउने विषयमा कुराकानीका लागि बोलाएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।
तर राष्ट्रपति भण्डारी र प्रचण्डबीचको भेटवार्ता राष्ट्रपति कार्यालय र प्रचण्डको सचिवालय दुबैले सार्वजनिक गरेनन्। नेपाल खबर बाट










