राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा केही समय अघिबाट सुरु भएको छ ।
तर, यो बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागि भएका छैनन् ।उनको अनुपस्थितिमा एमालेका भीम रावल, विष्णु पौडल र सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरेका छन् ।
केही दिनयता झाडापखालाबाट अस्वस्थ भएका एमाले अध्यक्ष केपी ओलीलाई घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाले ओली आजको बैठकमा सहभागि नभएको ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्थामा भने क्रमशः सुधार भइरहेको छ ।
त्यस्तै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागि छैनन् । यादव सप्तरीतर्फ गएकाले उनी पनि बैठकमा अनुपस्थित बनेका छन् । राजपाका तर्फबाट बैठकमा महन्त ठाकुर सहभागि छन् भने माओवादीका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल लगायतका नेताहरु सहभागि छन् ।










