वाम गठबन्धनमा आवद्ध चार युवा तथा विद्यार्थी संगठनले हालै पट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार युवा संघ नेपाल, वाइसिएल नेपाल, अखिल र अखिल क्रान्तिकारीले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आयल निगमका महाप्रवन्धक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयल निगमले हालसालै अन्तराष्ट्रिय हिसाबले मूल्य समायोजन गर्नै भन्दै खाना पकाउने एलपी ग्यासमा २५ रुपैँया र पेट्रोलियम पदार्थमा पनि मूल्य वृद्धि गरेको थियो।

‘खाना पकाउने एलपी ग्यासमा गरिएको २५ रुपैया मुल्यवृद्धिले साझै जनताको चुलोचौकोमा प्रहार गरेको छ भने अन्य पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले जनातको ढाड सेक्ने काम गरेकोछ’, चार संगठनका अध्यक्षद्वार हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ। त्यस्तै आयल निगमले मुल्य समायोज वैज्ञानिक र पारदर्शी ढंगले नगरेको निगमभित्रको भ्रष्टाचार र अनियमितता र अपारदर्शीताको बोझ जनतामा थोपरेको आरोपसमेत लगाइएको छ।

‘विनाआधार हचुवाको भरमा गरिएको मृल्यवृद्धि तत्काल खारेज गर्न र पूर्वसहमतिअनुरुप विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने निर्णय अविलम्ब कार्यान्यवन गर्न जोडदार माग गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ।

‘आयोगले विनाकारण मूल्य वृद्धि गरेको छ हामी यो कार्यान्यन हुन दिँदैनौँ’, ज्ञापन पत्र बुझाउन पुगेका अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले नेपालखबरसँग भने। उनले आयोगले तत्काल मूल्यवृद्धि फिर्ता नगरे संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए।

वाम गठबन्धन सम्बद्ध चार युवा तथा विद्यार्थी संगठनले बुधबार पनि मूल्य वृद्धिको विरुद्धमा राजधानीमा प्रदर्शन गरेका थिए।