नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना राखेको संकेत दिएका छन् ।

झापामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पार्टीले प्रस्ताव गरे आफूले राष्ट्रपति भएर बस्न चाहेको बताएका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति पद चाहियो भनेर लबिङ भने नगर्ने उनको भनाई थियो ।

नयाँ संविधानको कार्यान्वयनसँगै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रपति र उपराष्ट्रपति समेत परिवर्तन हुने व्यवस्था अनुसार एमाले र माओवादीबीच कसलाई राष्ट्रपति बनाउने भन्ने चर्चा चलिरहेको बेला झलनाथको धारणा सार्वजनिक भएको हो ।

एकथरिले भने अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीले निरन्तरता खोजेको चर्चा समेत थालेका छन् ।

“राष्ट्रपति बनाइ देऊ भनेर नमस्कार र बिन्ती गर्दै म हिँड्दिन” खनालले भने, “मेरो भूमिका, योगदान सबै कुरा हेरेर जिम्मेवारी दिएमा कुशलतापूर्वक पुरा गर्छु ।”

राष्ट्रपति पद निष्क्रिय भएको टिप्पणीमा नेता खनालले आफू राष्ट्रपति भएमा समेत सक्रिय नै रहने जिकिर गरे । यद्यपी नेपालमा राष्ट्रपतिको भूमिका कसरी सक्रिय हुनसक्छ भन्ने कुरा भने उनले गरेनन् ।

नेता खनालले एमाले र माओवादीबीचको एकता प्रक्रियालाई कसैले रोक्न नसक्ने जिकिर समेत गरे । कार्यकारी पदको विवादको सन्दर्भममा भने उनले एकै व्यक्ति अध्यक्ष र प्रधानमन्त्री हुने कुराको वकालत भने गरेनन् । “एकता हुन्छ, को अध्यक्ष र प्रधानमन्त्री हुने भन्ने विषयमा सहमतिमा टुंगिन्छ ।” उनले भने ।