प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवर बिहान बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनका शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच रोचक सवाल–जबाफ भएको छ ।
जनमतबाट पराजित भइसकेपछि लगत्तै सत्ता हस्तान्तरण गर्नुपर्नेमा कानुनी अल्झन खोज्दै हस्तान्तरणमा अवरोध गरेकोप्रति एमाले र माओवादी केन्द्रका नेताहरुले रोष प्रकट गरेका थिए ।
यसअघि पद छोड्न ‘आतुर’ रहेको र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश स्वीकृत नभएका कारण सरकार छोड्न नपाएको वताउँदै आएका देउवालाई एमाले र माओवादीका नेताहरुले सोधे– ‘तपाईं त सरकार छोड्न आतुर छु पो भन्दै हुनुहुन्थ्यो, अध्यादेश स्वीकृत नभएर छोड्न पाइनँ भन्नुभएको होइन ? अध्यादेश आएको एक हप्ता वितिसक्यो, राष्ट्रियसभा चुनावलाई अर्काे आम चुनाव गराउनेजस्तै गरी प्रचार गरेर मिति नतोकी बस्नु भएको छ, किन ?’ उनीहरुको प्रश्नमा देउवाले चित्तबुझ्दो उत्तर दिन सकेनन् । वार्तापछि एमालेका एक नेताले चक्रपथसँग भने–‘प्रधानमन्त्री देउवा अझै सत्ता लम्ब्याउने ‘मुड’मा देखिन्छन्, अझै पनि वाम गठबन्धनभित्र खेल्ने प्रयासमा छन् ।’
कसरी शुरु भयो सवालजबाफ ? शुरुमा प्रधानमन्त्री देउवाले वाम गठबन्धनका नेताहरुलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका थिए । त्यसपछि नेताहरुबीच वार्ता सुरु भयो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रश्न गरे – प्रधानमन्त्रीजी सत्ता नछोड्ने नै हो ? कति लम्ब्याउने हो ? जवाफमा देउवाले भने – सत्ता हस्तान्तरण गर्न आतुर छु । म शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार छु । यस्तो आरोप नलगाउनुहोस् न यार । प्रचण्डले फेरि भने – सत्ता हस्तान्तरण त जनताले निर्वाचनमार्फत गरिसके । प्राविधिक कारणले मात्र रोकिएको हो । हो, त्यो प्राविधिक कारणमा सहयोगी बनेर कहिलेसम्म बस्ने ?
प्रधानमन्त्री देउवा (एकछिन रोकिए भने,) -‘हो, हो, जनताले सत्ता हस्तान्तरण त गरेकै हुन् । म पनि गर्न तयार नै छु । अव गरिहाल्छु । मैले गर्दिनँ भनेको छैनँ ।
त्यसपछि प्रचण्डले राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेशको सन्दर्भ झिके ।
प्रचण्डले भने– ‘ हिजो राष्ट्रिय सभा गठनसम्बन्धि अध्यादेशका कारण सबै रोकियो भन्नुहुन्थ्यो, त्यो स्वीकृत भयो, खै त अरु प्रक्रिया अघि बढाएको ?’ त्यसमा एमाले उपाध्यक्ष भीम रावलले पनि थपे– ‘अध्यादेश आएको यति दिन बितिसक्दा पनि किन ढिलाई गर्नुभएको हो ? किन ढिलो बैठक बोलाउनु भएको हो ? के नियत हो ?’
यसको उत्तर दिन प्रधानमन्त्री देउवाभन्दा पहिला कांग्रेस नेता कृष्णप्रसाद सिटौला अघि सरे । उनले भने– ‘कांग्रेस र एमालेका नेताहरुको विवादले गर्दा ढिलाई भएको हो ।’
सिटौलाको जवाफ भुईंमा खस्न नपाउँदै एमाले नेता सुवास नेम्बाङले भने– ‘एमाले र माओवादी कहिले झगडा गर्लान्, अनि छोडौंला भनेर पो बिलम्ब गर्नु भएको ?’
जवाफमा प्रधानमन्त्री देउवाले अकमकिदै भने– अव सुरु भइहाल्छ, भइरहेको छ । म गरिहाल्छु ।
प्रधानमन्त्रीको जवाफप्रति असन्तुष्ट प्रचण्डले फेरि सोधे– राष्ट्रियसभाको निर्वाचन कहिले गर्नुहुन्छ ?
देउवाले त्यसमा पनि गोलमटोल जवाफ दिए । उनले समय भन्न सकेनन् । निर्वाचन आयोगको हवाला दिएर माघ २५ मा गर्न सकिन्छ त्यसमा सरकारले छलफल गर्ने बताए । प्रधानमन्त्रीको यो जवाफबाट गठबन्धनका नेताहरु सन्तुष्ट हुन सकेनन् ।
त्यसपछि प्रचण्डले भने– ‘माघ २५ गते होइन, माघ १० गते भित्र निर्वाचन गराउनुस् । प्रशस्त समय हुन्छ । ढिलो नगर्नुस् ।’
प्रधानमन्त्री देउवाले यसको प्रष्ट जवाफ दिएनन् । निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने मात्र कुरा गरे । तर निर्वाचन आयोगका पदाधिकारीहरुसँग यसबीचमा वार्ता नभएको पनि बताए । निर्वाचन आयोगका पदाधिकारीले सरकारलाई माघ २५ गते राष्ट्रियसभाको निर्वाचन तोक्न सिफारिस गरेको बताएका थिए, तर देउवाले पदाधिकारीलाई भेट्दै नभेटेको बयान दिए ।
स्थानीय तहको निर्वाचन तुरुन्तै गर्न सकिने, अन्य निर्वाचन तुरुन्तै गर्न सकिने तर राष्ट्रियसभाको निर्वाचन गर्न किन यति लामो समय भन्ने बारेमा त्यहाँ राम्रै वहस चल्यो । त्यसमा प्रधानमन्त्री देउवा र सत्तापक्षका नेताहरुले कुनै तर्क प्रस्तुत गरेनन् ।
त्यसपछि प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानीको विषयमा वार्ता भयो । सरकारले प्रदेशका अस्थायी केन्द्र तोकेर त्यस वमोजिम सरकारी संचार माध्यममार्फत नै सूचना चुहाएको थियो । तर व्यापक बिरोध भएपछि त्यसबाट सरकार अहिले पछि हट्यो ।
त्यसबारेमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सहयोग गर्नु पर्यो भन्ने आशयको कुरा राखे । जवाफमा वाम गठबन्धनका नेताहरुले निर्वाचन अघि नै गुर्नपर्ने काम किन नगरेको ? अहिले किन गरेको ? र किन फिर्ता गरेको हो ? जनमतबाट पराजित भइसकेको सरकारको काम के हो ? यस्तो गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नहरु सोधे ।
त्यसमा देउवा बोल्न सकेनन् । उनले सहयोग चाहियो मात्रै भनिरहे ।
त्यसपछि वाम गठबन्धनका नेताहरुले सरकारले कुनै पनि नियुक्ति, सरुवा, बढुवा केही नगर्न चेतावनीसहितको आग्रह गरेका थिए । त्यसमा पनि देउवा लगायतका सत्तापक्षीय नेताहरुले कुनै प्रष्ट जवाफ दिएनन् ।
यी सबै सवाल जवाफपछि बैठक सकियो । बैठकपछिको वाम निश्कर्ष छ– ‘देउवा सत्ता लम्ब्याउने खेलमा छन् ।’ चक्रपथ बाट सभार










