चितवन, २० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियामा आए जसरी ५०/५० प्रतिशत हिस्साको कुरा गलत भएको बताएका छन् । बिहीबार चितवन पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै नेतृत्व तहमा पार्टी एकताको बारेमा व्यापक छलफल भइरहेकाले यसबारे मिडियामा बोल्न आवश्यक नभएको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ‘प्रचण्ड’ले आफू र केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमा भन्दा सुशासन र देशको समृद्धि तथा राष्ट्रिय एकतामा ध्यान दिएको बताए । उनले सरकार गठनको बाटो खुलिसकेकाले अब पार्टी एकता हुने दाबी गरे । पार्टी एकताको सम्बन्धमा कुनै विवाद नभएको समेत उनले खुलाए ।
त्यस्तै उनले सर्वदलीय बैठकले प्रदेशका मुकाम र प्रमुख तोक्ने जिम्मेवारी सरकारलाई दिने निर्णय गरेको समेत स्पष्ट पारे ।










