बिहिबार झापा पुगेका एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिमा मेरो दावी त छैन तर यदि पार्टीले सर्वसम्मत रुपमा शिफारिस गर्‍यो भने म राष्ट्रपति बन्न तयार छु।’

संसद बैठक सुरु भएसँगै राष्ट्रपतिको समेत निर्वाचन हुने र राष्ट्रपतिका सम्भावित उम्मेदवारको रुपमा आफ्नो नामसमेत चर्चामा आउन थालेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला पुगेर खनालले राष्ट्रपति बन्न तयार रहेको बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का अलावा प्रदेश सभाका सदस्यहरु मतदाता हुने र राष्ट्रपति निर्वाचित हुन खसेको कूल मतको ५० प्रतिशत मत प्राप्त गर्नै पर्ने प्रावधान नेपालको संविधान ०७२ को धारा ६२ मा छ।

प्रदेश सभामा वामगठबन्धनको झण्डै दुई तिहाई छ भने राष्ट्रिय सभाको समेत निर्वाचन भएपछि संघीय संसदमा पनि गठबन्धन दुई तिहाई नजिक हुनेछ। त्यसैले, गठबन्धनले जसलाई राष्ट्रपतिको उम्मेदवार बनाउँछ, त्यही व्यक्ति पाँच वर्षका लागि राष्ट्रपति बन्ने पक्का छ।

गठबन्धनको घोषणा हुनुपूर्व एमाले–माओवादी केन्द्रबीच भएको ‘भद्र सहमति’ को कार्यान्वयन हुने हो भने, प्रधानमन्त्री र राष्ट्रपति दुवै एमालेबाट हुनेछन् भने पार्टी अध्यक्ष र सभामुख पद माओवादी केन्द्रले पाउनेछ। त्यसैले, राष्ट्रपति एमालेबाटै हुने लगभग पक्का छ।

सायद त्यही भएर खनालले ‘पार्टीले सर्वसम्मत रुपमा शिफारिस गरे राष्ट्रपति बन्न तयार’ रहेको जनाउ दिएका हुन्। खनाल एमालेको नेतृत्व गणका सिनियर नेता त हुन् नै, कसैलाई नबिझाउने स्वभावका भएकाले राष्ट्रपतिजस्तो मर्यादामा बस्नु पर्ने पदका लागि उपयुक्त पात्र पनि हुन्।

खुलेर दावी नगरेपनि राष्ट्रपति बन्ने चाहना चाहिँ उनले लुकाएका छैनन्। अझ् खनालले पहिलो पटक राष्ट्रपति बन्ने आफ्नो चाहना व्यक्त गरेका छन्, त्यो पनि सर्वशक्तिमान पार्टी अध्यक्ष ओलीको गृहजिल्ला पुगेर। सायद झापा पुगेर बोल्दा ओलीको ध्यान आकृष्ट हुने खनालले ठानेका हुनसक्छन्।

त्यसो भए के एमालेले खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउला त? एमालेमा अध्यक्ष ओली निकटस्थहरु भने यो प्रश्नको उत्तर अर्को एउटा प्रश्नको उत्तरबाट खोज्नु पर्ने बताउँछन्। त्यो प्रश्न हो, ‘के अध्यक्ष ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विकल्प खोज्न तयार होलान्?’

अब यो प्रश्नमाथि विमर्श गरौं।

नवौं महाधिवेशनमा झिनो मतले अध्यक्षमा बाजी मारेपछि ओली पार्टीमा निरन्तर शक्तिशाली बन्दै गए। पार्टीभित्र उनलाई कुनै पनि निर्णयमा माधव नेपाल–झलनाथ खनालको प्रतिपक्षले रोक्न सकेन। ओलीले जे चाहे, गर्दै गए। संविधान जारी भए लगत्तै प्रधानमन्त्री बन्ने अवसर पाएका ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गरे, जसले उनलाई पार्टीमा झन् शक्तिशाली बनायो।

माओवादीसँग चुनावी गठबन्धन र पार्टी एकताको निर्णय गरेपछि ओली अहिले थप शक्तिशाली देखिएका छन्। त्यसैले एमालेको भागमा पर्ने राष्ट्रपति पदमा ओलीको निर्णय नै निर्णायक हुने पक्कापक्की छ। ओली निकट एमाले नेताहरु के बताउँछन् भने, एमालेभित्र राष्ट्रपतिका प्रतिस्पर्धी भनेका वर्तमान राष्ट्रपति भण्डारी र खनाल नै हुन्। तर अन्ततः राष्ट्रपतिमा भण्डारीकै निरन्तरता हुने केही आधार उनीहरूले देखाएका छन्, ती हुन्ः

१. खनाल ओलीका लागि प्रतिकुल माओवादीसँगको एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्नेबारेमा खनालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ दिने चर्चा एमालेभित्र छ। यस्तो स्थितिमा ओलीले राष्ट्रपतिजस्तो उच्च पदमा खनालको नाम लिनेछन् भन्नेमा कसैलाई विश्वास छैन, स्वयं खनाललाई पनि छैन।

२. पार्टीभित्र आफूलाई चुनौति देखेको भए उनलाई पाखा लगाउन ओलीले खनाललाई राष्ट्रपतिको रुपमा प्रस्ताव गर्ने सम्भावना हुन्थ्यो। तर खनाल त्यो स्थितिमा छैनन्। ओली पार्टीभित्र यति धेरै शक्तिशाली छन् कि, बरिष्ठ नेता माधव नेपालले समेत खनालको साथ लिएर ओलीलाई कमजोर बनाउन सक्ने स्थिति तत्कालका लागि छैन। यही कारण खनाललाई राष्ट्रपति बनाएर उनको ‘व्यवस्थापन गर्नुपर्ने’ बाध्यतामा ओली छैनन्।

३. प्रधानमन्त्रीको अनुकूलता पार्टी अध्यक्ष यदि प्रचण्डलाई बनाइयो भने ओली पाँच वर्ष प्रधानमन्त्री हुन सक्नेछन्। ओली आफ्नो पाँच वर्षे कार्यकाललाई अवरोधरहित बनाउन चाहन्छन्। त्यसका लागि राष्ट्रपति पनि अनुकूल हुनुपर्छ। ओलीका लागि खनाल भन्दा भण्डारी नै अनुकूल हुने कुरा प्रष्ट छ।

४. भण्डारी सहज पहिलो महिला राष्ट्रपति हुनु, राष्ट्रपतिका रुपमा भण्डारीले निकै छोटो अर्थात् दुई वर्षे कार्यकाल मात्र व्यतित गर्न पाउनु आदिका कारणले पनि ‘भण्डारीलाई नै निरन्तरता दिऊँ’ भन्न ओलीलाई सहज छ। प्रथम राष्ट्रपति रामवरण यादवले पनि ७ वर्ष निरन्तता पाएको नजिर पेश गर्दै ओलीले भण्डारीलाई नै राष्ट्रपतिका लागि प्रस्ताव गर्न सक्छन्।

५. प्रचण्ड पनि सकारात्मक एकताको घोषणापछि एमाले र माओवादी केन्द्रभित्र पार्टी भनेकै ओली र प्रचण्ड हुन् भन्ने जस्तो सन्देश गएको छ। उनीहरुले गर्ने निर्णयमा प्रश्न उठाउने पंक्ति दुवैपार्टीभित्र छैन। रमाइलो त के भने, निर्वाचनपछि नयाँ सरकार निर्माणमा देखिएको गतिरोध फुकाउन राष्ट्रपति भण्डारी सक्रिय जस्तो देखिएपनि त्यसको जिम्मा चाहिँ राष्ट्रपतिले प्रचण्डलाई दिएकी छन्।

यस हिसावले प्रचण्डले मात्र राष्ट्रपतिको विश्वास जितेका छैनन्, राष्ट्रपतिले पनि प्रचण्डको मन जित्न सकेकी छन्। अर्थात् प्रचण्डपनि भण्डारीको नाममा सकरात्मक छन्। ओलीले ‘भण्डारीलाई नै निरन्तरता दिऊँ’ भनेको स्थितिमा प्रचण्डले पनि हुन्न भन्ने स्थिति छैन।

६. खनालका लागि प्रतिकूलता खनाल प्रधानमन्त्री भइसकेका राजनीतिक व्यक्तित्व हुन्। मर्यादामा प्रधानमन्त्री भन्दा राष्ट्रपति माथि भएपनि राजकीय शक्तिका दृष्टिले राष्ट्रपति भन्दा प्रधानमन्त्रीलाई उपल्लो पद मानिन्छ। किनभने, संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको छ भने राष्ट्रपति सम्वैधानिक भूमिकामा मात्र रहन्छन्।

त्यसैले, यदि खनाललाई राष्ट्रपतिका रुपमा अघि सार्न खोजियो भने प्रधानमन्त्री भइसकेका व्यक्ति राष्ट्रपति हुन नहुने बहस फेरि पनि सुरु हुनेछ, जसरी दुई वर्षअघि पनि यो बहस चुलिएको थियो। त्यो बेलापनि खनाल राष्ट्रपतिको आकांक्षी थिए। मर्यादाका दृष्टिले प्रधानमन्त्री भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने मत त्यो बेला जोडदार रुपमा उठेको थियो।

त्यो बेला राष्ट्रपतिका रुपमा एमालेभित्र चारजना व्यक्तित्व चर्चामा थिए– माधव नेपाल, झलनाथ खनाल, विद्यादेवी भण्डारी, सुवाष नेम्वाङ र रामप्रित पासवान। त्यसमध्ये नेपालले सक्रिय राजनीतिमै रहने उद्घोष गर्दै राष्ट्रपतिको दावेदारीबाट आफूलाई अलग गरे। पासवान पार्टीभित्र त्यति शक्तिशाली थिएनन्, त्यसैले उनको चर्चामात्र भयो।

बाँकी रहे, खनाल, नेम्वाङ र भण्डारी। नेम्वाङलाई संसदीय दलको उपनेता बनाएर राष्ट्रपतिको दौडबाट पछि हटाइयो। बाँकी रहे, खनाल र भण्डारी। एमालेले राष्ट्रपतिको उम्मेदवारका रुपमा खनाल र भण्डारीमध्ये एकजनालाई छान्नुपर्ने भयो। कसलाई राष्ट्रपति बनाउने त? त्यसका लागि एमाले स्थायी समितिको बैठक बस्यो।

राष्ट्रपति निर्वाचनमा पनि एमाले–माओवादी केन्द्रसहितको गठबन्धन थियो। दोस्रो राष्ट्रपति बनाउने अवसर एमालेलाई प्राप्त हुँदै थियो। छलफलपछि स्थायी समितिले कसलाई राष्ट्रपति बनाउने भन्ने निर्णय गर्नुपर्ने थियो। माधव नेपाल समूह अहिलेजस्तो कमजोर स्थितिमा उतिबेला थिएन। नेपाल खनाललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने पक्षमा थिए।

तर ओलीले बैठकमा छलफलको मौका नै दिएनन्। ‘लामो समयसम्म महिला आन्दोलनको नेतृत्व गरेकी, पार्टीको उपाध्यक्ष, राष्ट्रपतिजस्तो सम्वैधानिक जिम्मेवारीका लागि उपयुक्त पात्रजस्तो लामो व्याख्या गर्दै उनले भण्डारीको नाम प्रस्तुत गरिदिए। अझ भण्डारीलाई मदन भण्डारीको विरासतका रुपमा प्रस्तुत गरिदिएपछि कसले विरोध गर्ने?

बिना छलफल एक मतले भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय त्यो बैठकले गर्‍यो। नेपालले खनालको नाम नै प्रस्तुत गर्ने मौका पाएनन्। नेपाल र खनाल दुवै हेरेको हेर्‍यै भए।

ओली निकट नेता हुन् वा नेपाल पक्षधर नेताहरु– अहिले पनि राष्ट्रपतिमा खनालले अवसर पाउने भन्दा भण्डारीकै निरन्तरता बढि देख्छन्। ओली पक्षीय एक एमाले नेता भन्छन्, ‘निर्वाचनका बेला के हुन्छ, त्यो त अहिले भन्न सकिन्न। तर, दुईमध्ये एकजनालाई छनोट गर्नुपर्ने स्थितिमा खनालले अवसर पाउने भन्दा भण्डारीकै निरन्तरता हुने सम्भावना ज्यादा देखिन्छ।’  नेपाल खबर बाट