चिकित्सकको टुंगो नलाग्दा यातायात व्यवस्था कार्यालय मेचीले लामो समयदेखि सवारी चालक अनुमति–पत्र (लाइसेन्स) वितरणको प्रक्रिया रोकेको छ ।
निरोगिताको प्रमाणपत्र दिने चिकिसत्कको टुंगो नलाग्दा लाइसेन्स वितरण अन्यौलमा परेको हो । कम दररेटमा निरोगिताको प्रमाण–पत्र बितरण गर्ने भन्दै डा. चन्द्रेश्वर यादवले यातायात व्यवस्था कार्यालय मेचीमा निवेदन गरेका थिए । उनले ७ रुपैयाँमै सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र प्रदान गर्ने भन्दै यातायात व्यवस्था कार्यालय मेचीलाई स्वास्थ्य परीक्षण गर्न पाउँ भनी निवेदन गरेका थिए ।
उनले दिएको निवेदन स्वीकृत समेत भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि ७ जनाले निवेदन गरे पनि सवैभन्दा कम शुल्कमा यादवले स्वास्थ्य परीक्षण गर्ने भन्दै आवेदन गरेपछि उनको निवेदन स्वीकृत भएको यातायात व्यवस्था कार्यालय मेचीका सूचना अधिकारी टंकवहादुर कार्कीले बताए । तर, यादवको गोप्य शिलबन्दी दरभाउ पत्र सवैभन्दा कम दररेटमा स्वीकृत भए पनि सम्झौता गर्न नआउँदा पुनः दोस्रोपटक सूचना गर्नु परेको उनको भनाइ छ ।
लाइसेन्स बनाउन नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकले दिएको निरोगिताको प्रमाण–पत्र आवश्यक पर्छ । लाइसेन्स बनाउने सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्रका लागि यातायात व्यवस्था कार्यालय मेचीले गत पुस ६ गते सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य परीक्षण दस्तुरको न्यूनतम दररेट पेश गर्न चिकित्सकलाई आव्हान गरेको थियो । सवारी चालक अनुमति पत्रको प्रतिलिपि नवीकरण तथा नयाँ दर्ता निवेदन समेतमा आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र (अनुसूची १८) प्रमाणित गर्नका लागि नेपाल सरकारबाट मान्यताप्राप्त (नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको) चिकित्सकमार्फत न्यूनतम दररेटमा सेवा प्रदान गर्न सक्ने चिकित्सक आवश्यक भएको भन्दै कार्यालयले सूचना जारी गरेको थियो ।
कार्यालयले सूचना जारी गरे लगत्तै डा. यादवसहित डा. पंकज केसी ९ रुपैयाँ ५० पैसा, डा. विप्लव कन्दङ्वा २७ रुपैयाँ, मिङ्कु झा ३७ रुपैयाँ, डा. भूगोल प्रसाई र रंजीतकुमार चौधरी ४७ ÷४७ रुपैयाँ तथा डा. दिपेश न्यौपानेले ४८ रुपैयाँमा टेण्डर हालेका थिए । यादवको कम शुल्क भएपछि उनलाई यातायात कार्यालयले सम्झौता गर्न आग्रह गरेको थियो । निर्धारित समयमा उनले यातायात कार्यालयसँग सम्झौता नगरेपछि तीन दिनको समय थप गदै सम्झौताका लागि पुनः आग्रह गरेको थियो । टेन्डर पारेर पनि डा. यादवले यातायात व्यवस्था कार्यालयसँग सम्झौता नगरेपछि कार्यालयले पुनः पुस २० गते दोस्रोपटक सूचना जारी गरेको थियो । कार्यालयले पुस २६ गते ३ बजेसम्ममा निवेदन दिइसक्नुपर्ने जनाएको छ ।
यस अघि गरिएको निवेदनमा यातायात कार्यालयलाई झुक्याएर डा. यादवले सम्झौता नगरेपछि यसपटक कार्यालयको दैनिक सेवालाई अवरोध गर्ने मनशायले वोलपत्र पेश गरी स्वीकृत भए पश्चात सम्झौता गर्न नआउनेलाई प्रचलित कानून अनुसार कारवाही अघि वढाइने सूचना अधिकारी कार्कीले बताए । सवारी चालक अनुमति पत्रका लागि अब सवै काम अनलाइनमार्फत गरिने भएकाले नियमित रुपमा लाइसेन्स खोल्न आफूहरु लागीपरेको उनको भनाइ छ ।
सवारी चालक अनुमति पत्र लिनका लागि छारे रोग, बौलाएको वा एकाएक रिङ्गटा लाग्ने र मुर्छा हुने किसिमको रोग नलागेको , आँखा देख्ने शक्ति ठीक भएको व्यक्ति, रातो, हरियो, पहेंलो रंग तुरुन्त छुट्याउन सक्ने दृष्टि दोष नभएको व्यक्ति, रतन्धो नभएको व्यक्ति, हात खुट्टा शक्तिहीन भई काम दिन नसक्ने नभएको व्यक्ति भएको हुनपर्ने छ । तर, अपाङ्गको हकमा बिशेष किसिमले बनेको स्कुटरको लागि बिशेष व्यवस्था गरिएको हुन्छ ।










