विष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा लामो समयपछि हुन लागेको दमक महोत्सवले सबैको ध्यान खिच्न शुरु गरेको छ । पुष २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने निश्चित भइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिगतहरुमा लागेका महोत्सवभन्दा भिन्न मात्र नभएर पादरर्शी महोत्सव हुने दमक उद्योग बाणिज्य संघले जनाउदै आएको छ । महोत्सवको आम्दानी ब्यवसायिक हित कोष र इलम प्रशिक्षण केन्द्रको ब्यवस्थापनमा खर्चने जनाइदै आएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार मुल आयोजक समिति र उप समितिहरुले सक्रियताका साथ काम गरिरहेकाछन् । शनिबार उप समितिहरुको बैठकमा तयारीको बिषयमा छलफल भएको र तयारी तिब्र रुपमा भइरहेको बताईएको छ ।

महोत्सवमा हेलिकप्टरबाट दृश्यावलोकन, हात्ती उंटमा रतुवा खोलाको किनार शयर, घोडामा चढ्ने लगायतका सुविधाहरु यसपटक रहनेछ । हेलिकप्टर शयरलाइ प्रमुख आकर्षणको रुपमा समेत लिइएको छ । झापामा महोत्सवमा पहिलो पटक हेलिकप्टर आउन लागेको हो ।

पाथिभरा माताको दर्शनका लागि समेत हेलिकप्टरको सुविधा महोत्सव स्थलमा दिइने तयारी रहेको महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालले बताए । विश्वको अग्लो बुद्धमूर्ति बन्ने स्थल, दमक औधोगिक पार्क स्थलको पर्यटकहरुले अवलोकन गर्न सक्ने आयोजकको भनाइ छ ।

महोत्सव स्थल समेत यस पटक फराकिलो ठाँउमा बनाईएको छ । दमक ७ स्थित सयपत्री टोल रतुवा खोलाका किनारमा महोत्सव स्थल बनाईएको हो । महोत्सव स्थल घेराबारा तथा करिब २ सय स्टलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगको छ ।