सरकारले प्रदेश प्रमुख छिटै तोक्ने तयारी गरेको छ । भोलि बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ । तर, सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने भएको छ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख नियुक्त गर्ने जानकारी दिए ।

प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उनले प्रष्ट पारे । प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक गरेपनि अरु दलले चासो नदिएर उम्किन खोजेकाले सरकारलेमात्रै ‘अपजस’ नलिने उनको भनाइ छ । प्रदेशको अस्थायी मुकाम नतोक्दा प्रदेशसभाको बैठक काठमाण्डुमा बोलाउने तयारी सरकारले गरेको छ । प्रदेशसभाको बैठकले नै मुाकम तोक्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोजी प्रमुखको

प्रदेश प्रमुख आलंकारिक पद हो। नेपालमा प्रदेश प्रमुखले गर्ने काम भारतमा राज्यको गर्भनरले गर्छन्। प्रदेश सभा विघटन गरी राष्ट्रपतीय शासन लगाउनु पर्दा त्यो काम गर्भनरले गर्छन्। सामान्यतः प्रदेश प्रमुखमा राजनीतिक नियुक्ति गर्ने चलन छ। तर प्रधानमन्त्री देउवाले आगामी सरकार वाम गठबन्धनको बन्ने भएकाले राजनीतिक पृष्ठभूमिभन्दा बाहिरकालाई नियुक्त गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको ती नेताले बताए।