बिर्तामोड।

बिर्तामोडमा सञ्चालित होटलमा हुँदै आएको यौनजन्य विकृति रोक्न प्रहरीले विशेष सक्रियता देखाएको छ । पछिल्लो समय बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा युवती राखेर अनैतिक क्रियाकलाप हुने जनगुनासो बढेसँगै प्रहरीले यौनजन्य विकृति रोक्न विशेष सक्रियता अपनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा दिनहुँजसो छापा मार्दै त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्न तथा होटल सञ्चालकलाई समेत मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाउन थालेसँगै होटलमा हुने यौनजन्य विकृतिमा कमी आएको बताइएको छ ।

प्रहरीले चालूआर्थिक वर्षमा बिर्तामोडमा सञ्चालित होटलबाट ६७ युवतीसहित ९९ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेपछि कतिपय होटल व्यवसायीले यस्तो धन्दा छाडेर पलायन भएका छन् । प्रहरीले मंसीरयता मात्रै ४८ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ । जसमा २१ पुरुष २७ महिला परेका छन् । अधिकांश होटलमा अनैतिक क्रियाकलापमा संलग्न युवतीहरु पश्चिम नेपालका छन् ।

प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोक, काभ्रे, धरान, धनकुटा घर बताउने युवतीहरु यस्तो गतिविधिमा संलग्न हुने गरेका छन् । केही महिला र केही विद्यार्थीहरु समेत यस्तो कार्यमा संलग्न रहेको बताइएको छ ।

भदौ ९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले होटलमा हुने यौनजन्य गतिविधि रोक्न पहिलो प्रयास गरे । उनले सो समयमा अधिकांश होटलमा छापा मार्दै होटल सञ्चालकलाई समेत सार्वजनिक मुद्दा र दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न भएको भन्दै मुद्दा नै चलाए ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै मुद्दा चलाएका दुई होटल सञ्चालक अहिले पुर्पक्षका लागि थुनामा छन् । अर्जुनधारा–११का ११ वर्षीय बालकको रहस्यमय मृत्युको विषयमा बिर्तामोडमा भएको आन्दोलनपछि प्रहरी नायव उपरीक्षक सिलवाल सरुवा भएका थिए । उनी बिर्तामोडमा कात्तिक ११ गतेसम्म मात्र कार्यरत् रहे ।

६२ दिन इलाका प्रहरी कार्यालय बिर्तामोडमा रहँदा उनले झण्डै ५० बढीलाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरे । सो समयमा पक्राउ परेका अधिकांश युवा–युवती धरौटीमा रिहा भए पनि पुनः सोही धन्दामा लागेको भन्दै प्रहरीले थप अप्रेशन शुरु गर्यो । त्यसयता बिर्तामोडका २० भन्दा बढी होटलबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती धमाधम पक्राउ परे । केही धरौटीमा रिहा भए भने केही अझै पनि प्रहरीको नियन्त्रणमा छन् ।

कात्तिक ११ गते डीएसपी सिलवाल सरुवा भएसँगै कात्तिक २५ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको जिम्मेवारी सम्हाल्न आइपुगेका कृष्ण कोइरालाले पनि होटलमा हुने यौनजन्य विकृति रोक्न हात हाले । उनले पनि होटलबाट धमाधम यौनजन्य गतिविधिमा संलग्न रहेका युवायुवतीलाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिरहेका छन् ।

झापाका विभिन्न स्थानबाट भारत तथा अन्य देशबाट आउने नागरिकले पनि बिर्तामोडका होटलमा यौनकर्मी महिला छन् भन्दै होटल चाहार्न थालेपछि प्रहरीले अप्रेसन नै चालेको हो– बिर्तामोडका एक प्रहरीले भने । केही समयअघि सुनसरीको धरान, इटहरी र विराटनगरमा रहेका अधिकांश होटलमा यौनजन्य गतिविधि हुँदै आएको भन्दै त्यहाँ सञ्चालित होटलमा छापा मारेर युवती पक्राउ गर्न थालेपछि नियन्त्रणमा आएको यौनजन्य गतिविधि बिस्तारै बिर्तामोडमा फस्टाउँदै गएको थियो ।

प्रहरीकै संरक्षणमा बिर्तामोडका होटलमा यस्तो गतिविधि हुने गरेको जनगुनासो बढेपछि प्रहरी उपरीक्षक विष्णु केसीको निर्देशनमा प्रहरीले बिर्तामोडमा मात्र नभई काँकरभिट्टा, दमक जस्ता बजारमा सञ्चालित होटलमा छापा मार्न थालेको हो । काँकरभिट्टा र दमकमा पनि त्यतिकै संख्यामा महिला तथा पुरुषलाई पक्राउ गरी मुद्दा चलाउन थालेपछि झापामा बिस्तारै यौनकर्मी महिलाको संख्या घट्दै गएको प्रहरीले जनाएको छ । अनैतिक क्रियाकलापमा संलग्न कतिपय युवती घर फर्किएका छन् भने कतिपय अन्य व्यवसायमा लागेको प्रहरीले जनाएको छ ।

यता होटल व्यवसायीले समेत पेशा परिवर्तन गर्दै यस्तो गतिविधि बन्द गराएको बताइन्छ । दिनहुँजसो प्रहरीले होटलमा छापा मार्न थालेपछि घर भाडामा लिएर यौनकर्मी महिला राखेर सञ्चालन गरेका होटल बोहनीसम्म हुन छोडे पछि होटल सञ्चालकले पेशा परिवर्तन गरेको बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले बताए । उनले भने– बिर्तामोडको बसपार्क एरिया सबैभन्दा दुर्गन्धित रहेछ, हामीले त्यहीँबाट अप्रेशन शुरु गर्यौं । अहिले सबैतिर यस्तो गतिविधि क्रमशः निस्तेज हुँदै गएको छ ।’

‘कतिपय नाम चलेका होटलमै यस्तो गतिविधि हुँदै आएको थियो भने कतिपय नाम बिनाकै होटलमा पनि युवती राखेर अघोषित रुपमा यौन व्यवसाय हुँदै आएको थियो । हामीले यो थाह पाएपछि यौनजन्य गतिविधि रोक्न अभियान चालेका हौं’– प्रहरी निरीक्षक बिष्टले भने ।

कुन–कुन होटलबाट कति पक्राउ

बिर्तामोडमा सञ्चालित नाम नभएको होटलबाट प्रहरीले एकैसाथ छ पुरुषसहित २१ महिलालाई पक्राउ गर्यो यो नै बिर्तामोडको धेरै युवती राखेर अघोषित रुपमा यौन धन्दा चलाउने होटल हो ।

त्यस्तै अम्रेला होटल एण्ड लजबाट चार महिलासहित तीन पुरुष, आठराई–पाँचथर होटल एण्ड लजबाट तीन महिलासहित एक पुरुष, एकान्त होटल एण्ड लजबाट एक युवतीलाई प्रहरीले यौनजन्य गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ गर्यो ।

त्यस्तै जलगंगा होटल र धावा गजल घरबाट एक–एक पुरुष, ताप्लेजुङ मनकामना होटल एण्ड लजबाट चार महिला, तिरुपति होटल अगाडिबाट एक महिला, तुम्रुक खाजा घरबाट एक महिला, दार्जीलिङ होटल एण्ड लजबाट तीन महिलासहित एक पुरुष, दीपाञ्जलि होटल एण्ड लजबाट दुई महिलासहित एक पुरुष, न्यूताप्लेजुङ होटल एण्ड लजबाट एक महिलासहित एक पुरुष, पञ्चकन्या होटल एण्ड लजबाट तीन पुरुषसहित एक महिला, पारिजात होटल एण्ड लजबाट एक महिला एक पुरुषलाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ ।

त्यस्तै बिजय स्टार होटल एण्ड लजबाट दुई महिला, मनकामना होटल एण्ड लजबाट पाँच महिलासहित एक पुरुष, मेची होटल एण्ड लजबाट एक महिलासहित एक पुरुष, युनिक होटल एण्ड लजबाट तीन महिलासहित एक पुरुष, लक्जरी होटलबाट तीन महिला, सम्झौता होटल एण्ड लजबाट एक महिलासहित एक पुरुष, सांग्रिला होटल एण्ड लजबाट पाँच महिलासहित चार पुरुष, सिर्जना होटलबाट दुई महिलासहित दुई पुरुष, सोल्टी होटल एण्ड लजबाट एक पुरुष र ओसियन होटल एण्ड लजबाट दुई महिलासहित दुई पुरुषलाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ ।

पक्राउ परेका मध्ये केही होटल सञ्चालक समेत रहेका छन् । उनीहरुलाई समेत प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ भने दुई जनालाई मानव बेचबिखन तथा मानव ओसारपसारमा संलग्न भएको भन्दै मुद्दाअघि बढाएको छ ।

३५ कटेका पुरुष बढी पक्राउ

यौनजन्य गतिविधिमा संलग्न रहेको भन्दै होटलबाट पक्राउ पर्नेमा ३५ बर्ष कटेका पुरुष बढी छन् । यता १८ देखि २८ बीचका महिला बढी यस्तो गतिविधिमा संलग्न रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

पुरुष ६० वर्ष उमेरसम्मका पक्राउ पर्ने गरेका छन् भने महिला ४० भन्दा कम उमेरका हुन्छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कोइरालाका अनुसार अधिकांश होटलमा पक्राउ पर्ने युवतीले पश्चिम घर बताउने र उनीहरुको उमेर १८ देखि २८ बीच रहने र ३५ कटेका पुरुष बढी पक्राउ पर्ने गरेका छन् ।

अभियान जारी रहन्छः कोइराला

प्रहरी नायव उपरीक्षक कोइरालाले होटलमा हुने यौनजन्य विकृति रोक्न अभियान जारी राख्ने बताएका छन् । पूर्वाञ्चलकर्मीसँग कुराकानी गर्दै उनले भने– ‘हामी कम बोल्छौं, तर गरेर देखाउँछौं, अबको केही समयपछि तपाईं आफैंले महशुस गर्न सक्नुहुन्छ बिर्तामोडका कुनै पनि होटलमा यस्तो अनैतिक गतिविधि हुनेछैन ।’

उनले पूर्वाञ्चलकर्मीलाई प्रतिप्रश्न गर्दै अगाडि भने– ‘विगतमा यस्तो गतिविधि सञ्चालन गर्ने होटलका छिमेकीहरुलाई सोध्नुहोस्, उनीहरु अहिले के गरिरहेका छन् । प्रत्यक्ष तपाईं आफैंले महशुस गर्नुहुन्छ हामीले कसरी काम गरिरहेका रहेछौं’– उनले भने । कोइरालाका अनुसार धेरैजना होटल सञ्चालकले व्यवसाय परिवर्तन गर्दै नयाँ व्यवसाय शुरु गरेका छन् ।