काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बहुप्रतिक्षित छलफल सकिएको छ ।
छलफलमा पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको अध्यक्ष प्रचण्डले बताए ।
“हामीले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकार गठनबारे कुरा गर्यौं” प्रचण्डले भने, “मुख्यतः पार्टी एकताका बारेमा नै छलफल केन्द्रीत भयो ।”
नेकपा एमाले र माओवादी केन्द्रबीच गत असोजमा पार्टी एकताको निर्णय भएपछि त्यसको सैद्धान्तिक र प्राविधिक पक्ष अझै टुंगो लाग्न सकेको छैन । “आजको बैठकमा गम्भीर ढंगले छलफल भयो, यसअघि नै सहमति भएको प्रक्रिया अनुसार अघि बढने सहमति भयो ।” प्रचण्डले भने ।
आज भएको छलफल अनुसार सैद्धान्तिक र संगठनात्मक विषयमा दुबै दलहरुले आफ्नो न्यूनतम धारणा तय गर्ने छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीको आधारभूत सैद्दान्तिक कार्यदिशा, एकताको क्रममा न्यूनतम सैद्धान्तिक आधार के मान्ने भन्ने विषयमा मोटामोटी छलफल र संगठनको स्वरुप, कार्यशैली, संरचना र नेतृत्वका बारेमा छलफल भएपछि पार्टी संयोजन समितिको बैठक बस्ने छ ।
“भोली दुबै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने छ” ओलीसँगको बैठकपछि प्रचण्डले भने, “पर्सी पार्टी संयोजन समितिको बैठक बस्ने निर्णय भयो ।’
दुबै दलले छलफल गरे अनुसार, पर्सी बस्ने पार्टी संयोजन समितिले पार्टीको कार्यदिशाको मोटामोटी आधार र संगठन तथा नेतृत्वबारे छलफल गर्ने छ । यी कुरामा सहमति जुटेमा पार्टी एकताको प्रक्रियाका बारेमा समेत संयोजन समितिमा सहमतिमा पुगिने छ ।
“बैठक निकै सकारात्मक रह्यो, एकता इतिहासको आवश्यकता भएकोले यसलाई उत्तरदायित्वबोध गरेर अघि बढने विषयमा हामी निकै अगाडि पुगेका छौं ।” प्रचण्डले भने, “भ्रम र आशंका फिजाइए पनि अब एकताको प्रक्रिया निकै अगाडि बढेको छ । कतिपय प्राविधिक पक्षमा भोली र पर्सी छलफल हुन्छ र टुंगो लाग्छ ।”
माओवादी केन्द्रले इतिहासको मूल्यांकन र खासगरी जनयुद्दप्रति एमालेको धारणा, समाजवादी क्रान्तिको न्यूनतम कार्यदिशा तथा नेतृत्वबारे आफनो स्प्ष्ट धारणा अघि सारिसकेको छ । एमालेभित्र भने पार्टी एकताका कतिपय पक्षमा आपसी विवाद देखिएको छ ।
यो विवाद भोली बस्ने दुबै दलका बैठकबाट टुंगो लागेमा पर्सी बस्ने संयोजन समितिको बैठकले पार्टी एकताको ठोस प्रारुप तय गर्ने देखिन्छ ।










