काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आइतबारको बहुप्रतिक्षित भेटवार्ताले दुई पार्टीबीचको पार्टी एकता प्रक्रियालाई एक कदम अगाडि बढाएको छ । एमाले र माओवादी केन्द्रबीचको एकतालाई लिएर अनेक आशंका भइरहेका बेला दुई नेताको आइतबारको भेटवार्ताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउने समझदारी गरेका छन् । पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाइने भएको छ । त्यसका लागि सोमबार एमालेको स्थायी समिति र माओवादी केन्द्रको सचिवालय बैठक बस्ने भएको छ ।
मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बसेर वैचारिक, राजनीतिक र सांगठानिक व्यवस्थापनको काम गर्नका लागि कार्यदल बनाउने सहमति भएको छ । त्यसका लागि सानो टिम बनाउने समझदारी भएको छ ।
भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने -‘मुख्य रुपमा पार्टी एकताबारेमा छलफल गर्यौं, हामी जुन प्रक्रियाबाटअगाडि बढेका छौं, निष्कर्षमा पुर्याउनै पर्छु, भोलि आ-आफ्नापार्टीभित्र छलफल गर्ने, पर्सि पार्टी एकता संयोजन समिति बैठक बसेर राजनीतिक, वैचारिक र सांगठनिक काम गर्न टिम बनाएर जिम्मा दिने र केहीदिनभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्याउने भन्ने भएको छ ।’ चुनावपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् ।
यसैगरी, ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘एक्काइशौं शताब्दीको जनवाद’ का बारेमा सैद्दान्तिक रुपमा के गर्ने भन्ने बहस चल्न सकेको छैन् । प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति, सभामुख, एकीकृत पार्टीको केन्द्रीय समिति कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि टुंगो लगाउनुपर्ने अबस्था छ ।










