नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताएका  छन् ।

झापाको दमकमा बिहिबार पत्रकारसँग कुराकानी गर्दै उनले भने– ‘काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताए ।

‘कानुनी प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठन गर्न तर्फ दलहरु जुट्नुपर्छ,’ उनले भने ।

फरक प्रसंगमा नेता थापाले निर्वाचनको परिणामले काँग्रेसको पुनःसंरचना गर्नुपर्ने देखिएको बताउँदै जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर महाधिवेशनको तयारीमा पार्टी लाग्नु पर्ने धारणा व्यक्त गरे ।

काँग्रेसको पहिलो पुस्ताले मुलुकमा धेरै योगदान दिएको स्मरण गर्दै उनले अबको महाधिवेशनबाट पार्टीको पुरानो पुस्ता कार्यकारी तहमा आउन नहुने बताए ।

रासस