र्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई तत्काल रिहा गरी उनले उठाएका मुद्दाको गम्भिर छानविन गरेमात्र न्यायालयको स्वाभिमान बढ्ने बताएका छन्।

डा गोविन्द केसीको सोमबार राती भएको पक्राउको विरुद्धमा मंगलबार बिहान माइतीघरमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसहित सहभागी भएका थापाले सहभागीलाई सम्बोधन गर्दै डा केसीमाथि होइन, उनले उठाएका मुद्दामाथि छानविन गरेमात्र न्यायालयप्रति नागरिकको सम्मान बढ्ने बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘डा गोन्दि केसीलाई तत्काल रिहा गरियोस् र उनले उठाएका मुद्दाबाट भाग्ने होइन, त्यसको गम्भिर ढंगले छानविन होस्, दुधको दुध, पानीको पानी होस्’, थापाले भने, ‘त्यसो भयो भने मात्र न्यायपालिकाको स्वतन्त्रता र स्वाभिमानमाथि नागरिकको विश्वास रहन्छ।’

पूर्व स्वास्थ्यमन्त्री थापाले डा केसीको पक्राउको विरोध गर्दै आफुलाई पनि मानहानी मुद्दा लगाउन चुनौतीसमेत दिए।

प्रदर्शनमा सहभागी भएका केसीका समर्थकलाई सम्बोधन गर्ने क्रममा थापाले विगतमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको स्मरण गर्दै भने, ‘श्रीमान, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस्।’

चिकित्सा शिक्षामा सुधार गर्ने डा केसीको आन्दोलन कुनै एउटा व्यक्ति वा संस्थासँग मात्र सम्बन्धित नभएको बताउँदै थापाले अदालतप्रति सम्मान रहनुपर्छ भन्ने मूल्यमाथि धावा बोलिएकाले त्यसको प्रतिरोध भएको बताए।

‘डा केसीले उठाएको मुद्दा प्रत्येक नेपालको मुद्दा हो, सबै नागरिकले बारबरी हक अधिकार प्राप्त गर्नु पर्छ भन्ने मुद्दा हो’, थापाले भने, ‘बिरामी भएपछि राज्यको खर्चमा विदेशमा उपचार गराउन जो जान्छन्, तिनिहरूले पनि नेपालमै उपचार गर्नुपर्छ भन्ने मुद्दा हो यो, त्यसैले सबैलाई डा केसीको आन्दोलनमा जोडिन आग्रह गर्छु।’

थापाले भने, ‘अदालत कानुनको कुनै धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखडाउँछ।’