सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई मंगलवार प्रहरीले अदालतमा पेश गर्ने भएको छ । अदालतको अवहेलना गरेको भन्दै पक्राउ गरेर अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले मंगलबार कार्यालय समयमा डा. केसीलाई अदालतमा पेश गरिने भएको हो ।
न्यायालयविरुद्ध आन्दोलनरत डा. गोविन्द केसीलाई प्रहरीले सोमबार साँझ त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । डिएसपी रमेश दत्त जोशीको टोलीले डाक्टर केसीलाई अनसनस्थल महाराजगन्जबाट पक्राउ गरेको हो। सोमबार ४ बजेबाट केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका थिए । अदालत विरुद्ध बोलेपछि सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए। त्यही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश शाहीको इजलासले केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतमा केसीलाई पेश गर्दै गर्दा माइतीघरमा भने उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा सुरु भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा लगायतका नेताहरुको समेत सहभागिता रहेको छ । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् ।










