काठमाण्डौ । अदालतको मानहानी गरेको अभियोगमा पक्राउ परेका डा. गोविन्द केसीले आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको बयान दिएका छन् ।

मंगलबार दिउँसो भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डा. केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अरुले दुईटा नागरिकता राख्न पाउँदैनन्, तर प्रधानन्यायाधीशसँग दुई नागरिकता छन्, उहाँले उमेर सच्याएर जागिर खाइरहनुभएको छ, त्यो अपराध हो’ केसीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँ प्रधानन्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानबिन गरिपाउँ ।’

केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन् । नातेदार भएकाले नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेको उल्लेख गर्दै पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीले बयानमा उल्लेख गरेका छन् ।

केसीको बयान सकिएपछि अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीले अदालतको अपमान गरेको मुद्दामा बहस हुने भएको छ ।