पूर्वराजा ज्ञानेन्द्रले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मंगलवार भेटघाट गरेका छन् ।
आदित्यनाथ गोरखपुरस्थित गोरखनाथ मठका प्रमुख पुजारी हुन् । मठलाई राजपरिवारले श्रद्धा तथा सम्मान गर्छ ।
‘उनीहरूले एकअर्कालाई दशकौंदेखि चिन्छन् र यो उनीहरूबीचको व्यक्तिगत भेटघाट थियो । ज्ञानेन्द्र शाह लखनउमा व्यक्तिगत भ्रमणमा छन्,’ उत्तर प्रदेशका प्रमुख सञ्चार सचिव अवनीश अवस्थीले बताए ।
पूर्वराजा परिवारसहित लखनउको एक होटलमा बसेका छन् । उनले माघे संक्रान्तिका दिन गोरखपुर भ्रमण गर्ने कि नगर्ने निश्चित छैन । पूर्वराजा वीरेन्द्र माघे संक्रान्तिका बेलामा नियमित रूपमा मठ जाने गर्थे ।
सन् १९९२ मा वीरेन्द्र शाहले काठमाडौंबाट गोरखनाथ मठसम्म गाडी चलाएर गएका थिए ।
ज्ञानेन्द्र र आदित्यनाथको एक तस्वीर उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयले ट्वीटमार्फत प्रकाशन ग–यो । आदित्यनाथले पूर्वराजालाई सन् २०१९ मा प्रयागमा हुने कुम्भमेलामा भ्रमण गर्ने निम्तो दिएको बुझिएको छ । उनले पूर्वराजालाई कुम्भमेलाको लोगो पनि दियो ।
नाथ सम्प्रदायका अनुयायीहरूको संख्या नेपालमा ठूलो छ र आदित्यनाथ धेरैचोटि नेपाल आइसकेका छन् ।
‘राजा ज्ञानेन्द्रले केही वर्षअघि नेपालमा विश्व हिन्दू महासम्मेलन आयोजना गरेका थिए र उनले त्यसमा आदित्यनाथलाई विशेष निमन्त्रणा दिएका थिए । गोरखनाथ मठ भारत–नेपाल सीमानजिक पर्छ । त्यसैले नेपालको शाही परिवारले आदित्यनाथलाई सम्मान गर्छन् । गुरु गोरखनाथले नाथ सम्प्रदाय नेपालमै शुरु गरेका हुनाले गोर्खाली राजाहरूले उनलाई सम्मान गर्ने गरेका हुन्,’ एक अधिकारीले बताए ।
हिन्दुस्तान टाइम्सबाट










